एजेन्सी– बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले सोमबार आफ्नो पदबाट राजीनामा दिने भएका छन । लेबर पार्टीभित्रबाट बढ्दो दबाब र पार्टीका सांसदहरूको तीव्र असन्तुष्टिपछि स्टार्मरले यस्तो निर्णय गरेका हुन ।
अन्तराष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार, आगामी केही साताभित्र लेबर पार्टीले नयाँ नेता चयन नगरेसम्म उनी कार्यवाहक प्रधानमन्त्रीका रूपमा पदमा रहिरहनेछन् ।
आफ्नो सरकारी निवास १० डाउनिङ स्ट्रिटबाहिर देशवासीलाई सम्बोधन गर्दै स्टार्मरले भने, ‘मैले सधैँ आफूले माया गर्ने देशलाई पहिलो प्राथमिकतामा राखेर निर्णय लिएको छु। मेरो पार्टीले आगामी चुनावमा नेतृत्व गर्न म उपयुक्त व्यक्ति हुँ कि होइन भनेर प्रश्न गरिरहेको छ, र म त्यसको जवाफ स्वीकार गर्छु ।
त्यसैले म लेबर पार्टीको नेताको रूपमा राजीनामा दिँदैछु।’ निकै भावुक देखिएका उनले अगाडि थपे, ‘जब म देशको यो सबैभन्दा ठूलो जिम्मेवारी (पद) छाड्नेछु, म मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी– एक असल श्रीमान् र बुबा बन्नमा बढी समय बिताउनेछु।’ उनले सोमबार बिहानै राजा चार्ल्सलाई भेटेर आफ्नो राजीनाकाबारे जानकारी गराइसकेका छन् ।
दुई वर्षअघि मात्रै (जुलाई २०२४ मा) लेबर पार्टीलाई ऐतिहासिक चुनावी जित दिलाएर सत्तामा आएका स्टार्मरको लोकप्रियता पछिल्लो समय नराम्ररी खस्किएको थियो । अर्थतन्त्र सुधार र जीवनस्तर उकास्ने वाचाहरू पूरा गर्न नसकेको भन्दै उनको आलोचना भइरहेको थियो ।
गत साता भएको विशेष उपनिर्वाचनमा उनका आन्तरिक प्रतिद्वन्द्वी तथा ग्रेटर म्यानचेस्टरका पूर्व मेयर एन्डी बर्नहमले सानदार जित हासिल गरेपछि स्टार्मरमाथि पद छाड्ने दबाब ह्वात्तै बढेको थियो ।