सभामुखलाई रोस्ट गर्दा ‘कमेडी दरबार’ मा सेन्सरसिप, ११ पटक बिप राखियो

काठमाण्डु टुडे २०८३ असार ८ गते १३:५४ मा प्रकाशित

काठमाण्डू, ८ असार– टिभी शो ‘कमेडी दरबार’को पछिल्लो श्रृंखला विवादमा परेको छ । पछिल्लो साता प्रसारित सिजन ३ अन्तर्गतको ९ औं एपिसोडको एक प्रस्तुति विवादमा परेको हो ।

शुक्रबार ओएसआर रियालिटीले उक्त एपिसोडलाई युट्यबुमा ल्याएको छ । उक्त एपिसोडको ३१ मिनेट २२ सेकेन्डमा कलाकारद्वय सरोज भण्डारी र सुजन जिम्बाले सभामुख र मर्यादापालकको भूमिकामा प्रस्तुति दिएका छन् । उक्त प्रस्तुतिमा ११ पटक बिप हालेर ‘सभामुख’ भन्ने शब्दलाई म्युट तुल्याइएको छ ।

प्रस्तुतिलाई लिएर कतिपय हाँस्य शोहरू विवादित बन्ने गरे पनि बिप हालेरै सेन्सरसिप हालिएको भने यो पहिलोपटक हो । प्रतिनिधिसभाका सभामुख डीपी अर्याल र केही महिला सांसदलाई लक्षित गर्दै उक्त एपिसोडमा ती कमेडियनले प्रस्तुति दिएका थिए ।

संसदमा बोल्ने क्रममा पालो सकिएपछि माइक काटिने बेलाको मुखामुखको प्रसंगलाई ट्रोल बनाउँदै पछिल्लो समय सामाजिक सञ्जालमा भिडियो सेयर भैरहेका थिए । यो विषयले संसदमा प्रवेश समेत पाएको थियो । कार्यक्रमको ट्रेलर रिलिजपछि अधिवक्ता खगेन्द्र चापागाईंले प्रेस काउन्सिलमा उजुरी दिएका थिए ।

उनको उजुरीको आधारमा काउन्सिलले निर्देशक श्रद्धा प्रसाईं, प्राइम टिभी र ओएसआरमा फोनमा गरेर विवादित शब्द र दृश्य हटाउन निर्देशन दिएको थियो । त्यसपछि बिप हालेर कार्यक्रम प्रसारण गरिएको हो ।

यसप्रति शोका जज, निर्देशक र कलाकारसम्मले सिर्जनात्मक कार्यमा हस्तक्षेप भएको भन्दै सामाजिक संजालमार्फत असन्तुष्टि व्यक्त गरेका छन् ।

निर्देशक प्रसाईंले यस्तो कार्य अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताइन् । यद्यपि, आइन्दा एपिसोडमा विषयवस्तु र प्रप्समा समेत सजग हुने उनले बताएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us