पार्टीमा कुनै समूह छैन: मनिष झा

काठमाण्डु टुडे २०८३ असार ८ गते १५:३३ मा प्रकाशित

काठमाण्डू, ८ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले आफ्नो पदाधिकारीमा दाबी स्वाभाविक भएको बताएका छन् । महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले आफूले पदाधिकारीमा अपेक्षा राख्नु स्वाभाविक भएको पनि बताए ।

मनिषले भने, ‘मलाई के देख्न चाहनुहुन्छ भन्ने कुरा त प्रतिनिधिहरूले भन्नुहुन्छ होला, मैले मात्र इच्छा राखेर भएन । तर, स्थापनाकालदेखि यहाँसम्म आइपुग्दै गर्दा मैले पार्टीको लागि जुन किसिमको आफ्नो भूमिका निर्वाह गरेको छु, त्यसले गर्दा अब आगामी पदाधिकारीमा म आफूलाई दाबी गर्न सक्छु, आफ्नो अपेक्षा राख्न सक्छु ।

यसलाई स्वाभाविक रूपमा सबैले लिनुहोला ।’ उनले पदाधिकारीमा दाबी स्वाभाविक भएपनि कुन पदमा भने खुलाएनन् । उनले सबैतिरबाट आएकाहरूलाई महाधिवेशनले एकताबद्ध गरेर लैजाने बताए । उनले भने, ‘यो जिम्मेवारी हो, एउटा अवसर पनि हो । त्यसैले गर्दाखेरि हामी यसलाई आत्मसात् गर्दै अगाडि बढिराखेका छौँ ।

हिजो उद्घाटन समारोहमा सबै नेताहरूले एकताको, सङ्गठनमा कुनै समूह नरहेको, आफ्नो सिद्धान्त र निष्ठा प्रति कति इमानदार रहन्छ भन्ने पार्टी सभापतिले समेत उद्घाटन समारोहका मञ्चबाट उद्घोष गरिसक्नुभयो ।’

उनले रास्वपा राष्ट्रियता, लोकतन्त्र,गणतन्त्र र सुशासनप्रति प्रतिबद्ध रहेको बताए । उनले थपे, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक अस्तित्वलाई कम्तीमा देशका विभिन्न दलहरूले स्वीकारिसकेको म्यासेज पनि हिजो हामीले पायौँ ।

कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री लगायत प्रमुख दलका प्रमुख पदाधिकारीहरू आउनुभएको थियो, त्यसलाई हामीले हामीप्रतिको एउटा सम्मान र सद्भावको रूपमा लिएका छौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us