काठमाण्डू, ८ असार– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका– १२ ज्याम्दीमा टिपरमा च्यापियर एक युवकको मृत्यु भएको छ ।
बालुवा लोड गर्ने क्रममा दुई टिपरको बीचमा च्यापियर पाँचखाल नगरपालिका–८ होक्से घर भई हाल पाँचखाल–४ तामाघाट बस्दै आएका १९ वर्षीय देवेन्द्र तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन बिष्टले जानकारी दिएका छन ।
आइतबार राति करिब १० बजे मण्डनदेउपुर नगरपालिका–१२ ठुल्डीबेँशीस्थित वेतेनी बगरमा बा-४ ख ९८२५ नम्बरको टिपर बालुवा लोड गरी ब्याक गर्ने क्रममा अर्को रोकिराखिएको बा-४ ख ९९०९ नम्बरको टिपमा युवक च्यापिएको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि आक्रोशित स्थानीयले दुवै टिपरमा तोडफोड गर्दा झ्यालढोका तथा सिसामा क्षति पुगेको छ । दुवै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनामा संलग्न बा-४ ख ९८२५ नम्बरको टिपरका चालक ललितपुरको गोदावरी नगरपालिका–६ निवासी ३९ वर्षीय दीपक सत्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।