रास्वपा महाधिवेशन प्रतिनिधिको टुंगो नलाग्दा बन्दसत्र सुरु हुने समय लम्बियो

काठमाण्डु टुडे २०८३ असार ८ गते ११:४२ मा प्रकाशित

काठमाण्डू, ८ असार– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत प्रतिनिधिहरूको नामावली त्रुटि सच्याउने क्रम नसकिँदा बन्दसत्र सुरू हुने समय लाग्ने भएको छ ।

आज बिहान साढे ८ बजेबाट बन्द सुत्र सुरू गर्ने कार्यतालिका थियो । तर प्रतिनिधिहरूको नामावलीहरू नै टुंगो नलाग्दा तोकिएको समयमा सुरू गर्न समस्या परेको हो । प्रतिनिधिहरूको टुंगो लगाउनेक्रम जारी रहेको रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए ।

यो सकिएपछि मात्र प्रतिनिधिहरू निश्चित हुन्छन् । नेताहरूका अनुसार बन्दसत्र सुरू हुन नै अपराह्न अबेर हुनसक्छ । प्रतिनिधिहरूको नाम, थर, ठेगाना नै नमिलेका कारण उनीहरूको कार्ड बन्न सकेको छैन । मधेस लगायतका प्रदेशका त प्रतिनिधिहरू को रहने भन्नेमा पनि विवाद थियो ।

निर्वाचन समितिले आइतबार ४ हजार प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको थियो । अहिले बन्दसत्रस्थल वरपर रास्वपाका प्रतिनिधिहरुको उल्लेख्य भिडभाड छ ।

बन्दसत्रमा केन्द्रीय समितिबाट पारित भएको विधान संशोधन प्रस्ताव, सांगठनिक तथा राजनीतिक प्रतिवदेन, आर्थिक प्रतिवेदनहरु पेस गर्ने कार्यक्रम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us