रास्वपाप्रति मुकुलको गुनासोः ‘फ…‘ लेख्ने व्यक्ति प्रधानमन्त्री बनिसक्दा म निम्तोसूचीमा समेत परिनँ

काठमाण्डु टुडे २०८३ असार ७ गते १४:४० मा प्रकाशित

काठमाण्डू, ७ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री डा. मुकुल ढकालले पार्टीको पहिलो महाधिवेशनमा आफूले निम्तो पत्रसमेत नपाएको भन्दै गुनासो व्यक्त गरेका छन ।

ढकालले सामाजिक सञ्जालमा स्टटास लेख्दै उनले आफ्नो असन्तुष्टि पोखेका हुन् । आजबाट चितवनमा सुरु भएको महाधिवेशनका सन्दर्भमा ढकालले पार्टी स्थापनाका कठिन दिनहरूको स्मरण गरेका छन् ।

५०० वटा नागरिकता जुटाउन समेत संघर्ष गर्नुपरेको समयदेखि आज पार्टी दुई तिहाइ जनमतसहित सरकारमा पुग्दासम्मको यात्रालाई उनले ‘मानसपटलमा जीवन्त रहने इतिहास’ समेत भनेका छन । पार्टी स्थापना गर्ने व्यक्ति नै ऐतिहासिक महाधिवेशनको निम्तो सूचीमा नपर्नु विडम्बनापूर्ण रहेको उनले बताएका छन ।

उनले लेखेका छन्, ‘विडम्बना, पार्टीलाई ‘फ‘’ लेख्ने व्यक्ति प्रधानमन्त्री बनिसक्दा, पार्टी स्थापना गर्ने म भने महाधिवेशनको निम्तो सूचीमा समेत परिनँ।’ पार्टीविरोधि गतिविधिको आरोपमा रास्वपाबाट निकालिएका ढकालले आफ्नो भौतिक उपस्थिति नभए पनि आफ्ना विचार र सिद्धान्तले स्थान ओगट्ने कुरा महत्त्वपूर्ण हुने बताएका छन् ।

आफू चितवनमा नभए पनि महाधिवेशनले लिने सही कार्यदिशामा आफ्नो समर्थन रहने उनको भनाइ छ । महाधिवेशनमा सहभागी ४ हजार प्रतिनिधिहरूलाई सम्बोधन गर्दै डा. ढकालले पार्टीलाई व्यक्ति र पदको वरिपरि मात्र नघुमाउन आग्रह गरेका छन् ।

उनले ‘राजव्यक्ति’ (व्यक्ति पूजा वा पदको राजनीति) भन्दा माथि उठेर ‘राजनीति’ (नीति र सिद्धान्तको बहस) गर्न अपिल गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us