काठमाण्डू, ४ असार– पासपोर्ट खरिद प्रकरणमा भ्रष्टाचार भएको विषयमा बयान लिन भन्दै घरमा म्याद तामेल गरेपछि पूर्व मन्त्री डा.आरजु राणा देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई इमेल पठाएकी छन ।
आरजु राणा देउवाको नामबाट बुधबार अख्तियारको इमेल आइडीमा मेल आएको अख्तियार स्रोतले पुष्टि गरेको छ । स्रोतका अनुसार मेलमा आफू अहिले उपचारका लागि विदेशमा रहेकाले तत्काल उपस्थित हुन नसक्ने व्यहोरा उल्लेख गरेकी छन ।
अख्तियार स्रोतले भन्यो, ‘अनुसन्धानमा सहयोग गर्न तयार रहेको उल्लेख गर्दै उपचारको कारण देखाएर तत्कालै उपस्थित हुन नसक्ने भन्दै आरजुको नामबाट इमेल आएको छ ।’ पासपोर्ट खरिद प्रकरणकमा अनुसन्धान अघि बढाएपछि अख्तियारले आरजुको बूढानीलकण्ठस्थित घरमा म्याद तामेल समेत गरेको थियो ।
जहाँ बाटोको म्याद बाहेक तीन दिनभित्र उपस्थित हुन भनिएको छ । पूर्वपरराष्ट्रमन्त्री समेत रहेकी कांग्रेस नेतृ आरजु, उनका पति तथा पूर्वप्रधानमन्त्री, कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो समयदेखि देश बाहिर छन् ।
अख्तियार उच्च स्रोतबाट प्राप्त कागजात केलाउँदा, गतवर्षको पासपोर्ट खरिद प्रक्रियामा परराष्ट्रमन्त्री डा. आरजु देउवाको कुनै लिखित निर्देशन वा अन्य निर्णय देखिँदैन ।