काठमाण्डू, ४ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विधानमा पहिलोपटक ‘वरिष्ठ नेता’ को पद सिर्जना भएको छ । आगामी ७ देखि ९ असार मा चितवनमा हुने रास्वपाको पहिलो महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन प्रस्तावमा ‘वरिष्ठ नेता’ थप्ने सहमति गरिएको हो । रास्वपामा हाल प्रधानमन्त्री वालेन्द्र शाह वरिष्ठ नेता छन् ।
तर, पार्टीको विधानले उनलाई चिन्दैन । बालेन रास्वपामा विलय हुँदा पदाधिकारी बस्न नचाहेपछि सभापतिपछिको वरीयतामा रहने गरी वरिष्ठ नेताका रूपमा व्यवस्थापन गरिएको थियो ।
यो पदलाई अब वैधानिकता दिने आज बसेको सचिवालय वैठकमा सहमति जुटेको हो । ‘वरिष्ठ नेता’ सेरेमोनियल रूपमा मात्रै रहने पार्टीका एक पदाधिकारीले बताए ।
यो पदमा निर्वाचन नहुने ती पदाधिकारीको भनाइ छ । ‘वरिष्ठ नेता भनेको पदाधिकारी नभएर एउटा सम्मानित पदका रुपमा मात्रै रहने छ । त्यसैले यसमा निर्वाचनको साटो मनोनयन गर्ने व्यवस्था हुन्छ,’ उनले भने । स्रोतका अनुसार प्रधानमन्त्री बालेन नै वरिष्ठ नेता बन्ने छन् ।
उनलाई वरिष्ठ नेतामा निरन्तरता दिने समझदारी पहिल्यै भएको बुझिएको छ । बालेनले रास्वपामा शक्तिशाली पद लिने चाहना देखाएका छैनन् । आज बसेको सचिवालय वैठकले एकजना सहमहामन्त्री पनि थप्ने निर्णय गरेको छ ।
यसअघि ४ सहमहामन्त्रीको व्यवस्था रहेकोमा अब ५ जना पुर्याइने भएको हो । त्यसमा १ जना महिला अनिवार्य हुनुपर्छ । उपसभापति, सहप्रवक्ता र सहकोषाध्यक्षमा पनि एक महिला अनिवार्य गरिएको छ ।