जब मैदानबाट एक्लै रिसाउँदै बाहिरिए रोनाल्डो…

काठमाण्डु टुडे २०८३ असार ४ गते १४:२७ मा प्रकाशित

काठमाण्डू, ४ असार–  फिफा विश्वकप २०२६ को पहिलो खेलमा डीआर कंगोसँग १–१ को अप्रत्याशित बराबरी खेल्दा क्रिस्टियानो रोनाल्डो निकै निराश देखिए ।

खेलमा उनको व्यक्तिगत प्रदर्शन निकै फितलो देखियो । खेल सकिएलगत्तै रोनाल्डो मैदानबाट एक्लै टाउको झुकाएर ड्रेसिङ रुमतर्फ लागेका थिए । जबकि पोर्चुगल टीमका अन्य खेलाडीहरूले मैदानमा केही समय बिताएर ह्युस्टनमा आएका हजारौँ पोर्चुगीज समर्थकहरूलाई धन्यवाद दिएर घुमेका थिए ।

तर कप्तान रोनाल्डो भने त्यसमा सहभागी हुन सकेनन् । खेलको सुरुवाती समयमा जोआओ नेभेसले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाउन सफल भएका थिए । तर, योआने विस्साले डीआर कंगोका लागि बराबरी गोल फर्काए । ४१ वर्षीय रोनाल्डोले आफ्नो प्रदर्शनमा पनि चित्त बुझाउन सकेनन् ।

उनले केही राम्रा मौका गुमाएको देखिन्थ्यो । खेलपछि उनको अनुहारमा स्पष्ट निराशा थियो । रोनाल्डोले केही समर्थकहरूलाई अभिवादन गरे र डीआर कंगो टिमका एक कोचसँग हात मिलाए पनि टिमसँगै दर्शकलाई धन्यवाद दिन भने बसेनन् । यो बराबरीले रोनाल्डोको विश्वकप जित्ने सपनालाई थप कठिन बनाएको छ ।

विश्वकपमा यो उनको छैटौँ सहभागिता हो। तर अहिले उनी १० खेलदेखि गोल गर्न सकेका छैनन्, जुन उनको अन्तर्राष्ट्रिय करियरको सबैभन्दा लामो गोलरहित क्रम हो ।

पोर्चुगलका म्यानेजर रोबेर्टो मार्टिनेजले खेलअघि नै भनेका थिए, ‘यदि बराबरी भयो भने त्यो विपत्ति हो, हार भयो भने संसारको अन्त्य हो ।’ खेलपछि भने उनले ‘यो विश्वकपको हिस्सा हो, अब विश्लेषण गर्नुपर्छ’ भनेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us