विराटनगर– कोशी प्रदेश सभा बैठकमा सांसदहरुले प्रधानमन्त्री बालेन्द शाह (बालेन) विरुद्ध खेद प्रस्ताव पारित गर्नुपर्ने आवाज उठाएका छन् ।
शनिबार बैठकमा बोल्ने सत्ता र प्रतिपक्षका सांसदले ‘नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको छ’ भन्ने बालेनको अभिव्यक्ति आपत्ति जनाए । बालेनले राष्ट्रिय अखण्डता, भौगोलिक एकताका विरुद्ध राष्ट्रघाती अभिव्यक्ति दिएको उनीहरुको भनाइ छ ।
सरकार नेतृत्वकर्ता एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोले प्रधानमन्त्रीको अभिव्यक्ति अक्षम्य भएको बताए । बालेनको अभिव्यक्तिले जनतामाथि ठूलो विश्वासघात भएको उनको भनाइ थियो ।
‘कार्यकारी प्रमुखको गैरजिम्मेवार अभिव्यक्तिले जनतामाथि ठूलो विश्वासघात भएको छ,’ मेन्याङ्बोले भने, ‘मुलुकको राष्ट्रियतामाथि कालो बादल मडारिएको छ ।’
सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को हतियारधारी फौज प्रवेश गरेको विषयमा नेपाल सरकार नबोल्नु आश्चर्यजनक भएको टिप्णणी उनको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद गणेश उप्रेतीले प्रधानमन्त्रीको भनाइप्रति खेद प्रस्ताव पारित गर्नुपर्ने बताए । उनले प्रधानमन्त्रीलाई देशको माटोको माया नभए पनि आमजनतालाई माया रहेको उल्लेख गरे ।
‘प्रधानमन्त्रीले जुन हिसाबले राष्ट्रघात गरेका छन् त्यसविरुद्ध यो सदनले खेद प्रस्ताव पारित गर्नुपर्छ,’ उप्रेतीले भने, ‘प्रधानमन्त्रीलाई देशको माटोको माया नभएपनि आम नागरिकलाई आफ्नो देश र प्रदेशको माटोको माया छ ।’
प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको अभिव्यक्ति दिएपछि भारतीय सुरक्षाकर्मीहरु हतियारसहित नेपाली भूमिमा प्रवेश गर्नुले परिस्थिति गम्भीर बनेको उप्रेतीले बताए ।