नक्कली भुटानी शरणार्थी प्रकरण: ओलीलाई बयानका लागि झिकाउन  दायर निवेदन दर्ता

काठमाण्डु टुडे २०८३ जेठ २८ गते २२:५७ मा प्रकाशित

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायत विभिन्न व्यक्तिलाई बयानका लागि झिकाउन माग गर्दै दायर गरिएको निवेदन जिल्ला अदालत काठमाडौंले दर्ता गरेको छ ।
अदालत स्रोतका अनुसार बिहीबार कार्यालय समय सकिनै लाग्दा न्यायाधीशले उक्त निवेदन दर्ता गर्ने निर्णय गरेका हुन् ।
बहसका क्रममा जाहेरवालातर्फका कानुन व्यवसायीहरूले एमाले अध्यक्ष ओली, उनका स्वकीय सचिव राजेश बज्राचार्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राई, एमाले वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा, उनकी पत्नी नैनकला थापा, काठमाडौंका पूर्वमेयर विद्यासुन्दर शाक्य, अजयक्रान्ति शाक्य, कांग्रेस नेतृ आरजु राणा देउवा तथा मञ्जु खाणलाई पक्राउ गरी बयान लिनुपर्ने माग गरेका थिए ।

उक्त मागप्रति प्रतिवादी पक्षका कानुन व्यवसायीहरूले आपत्ति जनाएपछि इजलासमा केहीबेर तनावको अवस्था सिर्जना भएको थियो ।
पछि जाहेरीकर्ताको तर्फबाट रामकुमार रेग्मीले लिखित निवेदन पेश गरेका थिए ।

निवेदनमा उल्लेखित व्यक्तिहरूले रकम बुझेको पुष्टि हुने पर्याप्त प्रमाण अदालतमा पेश भइसकेको दाबी गर्दै उनीहरूलाई अदालतमा झिकाएर बकपत्र गराउनसमेत माग गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us