च्याम्पियन अर्जेन्टिनालाई पहिलो खेलमै दुःख दिन सक्ने अल्जेरिया उच्च लयमा

काठमाण्डु टुडे २०८३ जेठ २८ गते १४:३३ मा प्रकाशित

काठमाण्डू, २८ जेठ– आज मध्यरातबाट फिफा विश्वकप २०२६ सुरु हुँदै छ । टिमहरू अन्तिम तयारीमा जुटेका छन् । यसै तयारी स्वरुप डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना रहेको समूह जेको अफ्रिकन टोली अल्जेरिया उच्च लयमा देखिएको छ ।

लगातार अभ्यास खेल जित्ने क्रममा अल्जेरियाले बिहीबार बिहान बोलिभियामाथि ४–० गोलको प्रभावशाली जित निकाल्न सफल भएको छ । १६ मिनेटमा चार गोल गर्दै विश्वकप अघि अल्जेरिया उच्च लयमा देखिएको हो । दक्षिण अमेरिकी टोलीविरुद्ध ४५ मिनेटमा पहिलो गोल गरेको अल्जेरियाले ६१ मिनेटसम्म ४ गोल गरेको हो । यसअघि अभ्यासको पहिलो खेलमा अल्जेरियाले नेदरल्यान्ड्सई १–० गोलले पराजित गरेको थियो ।

त्यसअघि मैत्रीपूर्ण खेलमा उरूग्वेसँग पनि अल्जेरियाले गोलरहितबराबरी खेलेको थियो । त्यसअघि ग्वाटेमालालाई ७–० गोलले पराजित गरेको थियो । विश्वकपको समूह चरणको पहिलो खेलमा अर्जेन्टिनाले अल्जेरियाकै सामना गर्दै छ । अल्जेरियाका लागि टोलीका कप्तान एवं स्टार खेलाडी रियाद महरेज, मोहम्मद अमौरा, अमिन गुइरी प्रभावशाली खेलाडी बन्न सक्नेछन् । महरेज विंगर हुन् ।

युरोपियन लिगमा नाम चलेका उनी खेललाई बदल्न माहिर खेलाडी हुन् । अमोउरा तीव्र गति र अट्याकिङका फुटबलमा लागि परिचित छन् । फरवार्ड अमिनले बिहीबार दुई मिनेटमा बोलिभियाविरुद्ध दुई गोल गरेका थिए । अनुभवी डिफेन्डर आइसा मन्डीलेसमेत बोलिभियाविरुद्ध गोल गरेका छन् ।

त्यस्तै, इब्राहिम माजा पनि अल्जेरियाको लागि प्रभावशाली खेलाडी मानिन्छन् ।अल्जेरियालाई डार्क हर्स टोलीको रुपमा पनि लिइएको छ । ठूलो टिम नमानिए पनि २०२२ मा मोरक्को सेमिफाइनलमा पुगेजस्तै अल्जेरियालाई पनि यसपटक आम अपेक्षाभन्दा राम्रो फुटबल खेल्न सक्ने टोलीको रुपमा मिडियाले व्याख्या गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us