काठमाण्डू, २८ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले रास्वपाकै नेतृत्वको सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा विरोध जनाएका छन ।
बजेटको सैद्धान्तिक पक्षमा केही कुरा राम्रा भए पनि समग्रमा राम्रो सन्देश नगएको टिप्पणी उनले गरेका छन । प्रतिनिधिसभामा जारी विनियोजन विधेयकको राजस्व र व्ययमाथिको छलफलका क्रममा आज (बिहिबार) को प्रतिनिधि सभाको बैठकमा उनले यस्तो बताएका हुन ।
उनले आयकर छुट, आईटीलाई प्राथमिकता दिनेजस्ता कुरा बजेटमा सकारात्मक रूपमा आएपछि विज्ञ अर्थमन्त्रीले उत्पादन बढाउने, गरिबका लागि रोजगारी बढाउन बजेट सक्षम नदेखिएको टिप्पणी गरेका हुन् ।
ऋण लिएर ल्याइएको बजेट फुकेको बेलुनजस्तो भएको उनको भनाइ छ । बजेटबाट कति प्रतिशत खुसी भए रु बैंकर खुसी भए, बैंकमा रकम जम्मा भयो तर यो रकम व्यापार गर्ने माहौल नभएर थुप्रिएको हो ।
यी हुन् सत्तापक्षकै सांसद अमरेशका ८ कटाक्ष
डरले शासन चल्ला तर विकास हुँदैन ।
शिक्षा, स्वास्थ्य मौलिक हक हुन्, यसमाथि लगाइएको कर अस्वीकार्य छ ।
बूढानीलकण्ड विद्यालयमा पढेका विज्ञ अर्थमन्त्रीले त्यस्तै मोडलका मोडलका विद्यालय सातै प्रदेशमा खोल्न अर्थमन्त्रीले किन सक्नु भएन ?
किसानले ५ रुपैयाँमा बेचेको तरकारी उपभोक्तालाई ५० पर्छ, सरकारले किसानलाई ३० रुपैयाँ दिलाउन किन सक्दैन ?
बजेटले केही लाख कर्मचारीको तलब बढायो तर युवा रोजगारी बढाउने कार्यक्रम किन ल्याएन ?
उत्पादन बढाउने कार्यक्रम सरकारले किन ल्याएन ?
घाटाको बजेट ऋण तिर्नमा खर्च गरेपछि विकास कहाँबाट गर्ने ?
कर्मचारीले २१ प्रतिशत बढेको तलब पाउने भए, गरिब जनताले के पाए ?