काठमाण्डू, २७ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री बालेन्द्र शाहको लिखित प्रस्ताव परराष्ट्रमन्त्री शिशिर खनालले पढे हुन्छ भन्ने विपक्षी दलको प्रस्ताव मानेको छैन ।
रास्वपा सभापति रवि लामिछानेले बोलाएको विपक्षी दलहरूको बैठकमा विपक्षी दलका नेताहरू प्रधानमन्त्री आउन नसक्ने कारण बताएर उनको हस्ताक्षर भएको लिखित जवाफ जुनसुकै मन्त्रीले पढे पनि हुने विपक्षीको प्रस्ताव रास्वपाले अस्विकार गरेको हो ।
सिंहदरबारमा बसिरहेको बैठकमा विपक्षीले गरेको प्रस्तावमा लेखिएको छ, ‘प्रधानमन्त्री आउन नसक्ने कारण बताएर उहाँको हस्ताक्षर भएको लिखित जवाफ खटाएको जुनसुकै मन्त्रीले पढ्दा हुन्छ ।’ तर, रास्वपाका सभापति लामिछानेले भने त्यो प्रस्ताव अस्वीकार गरेका छन् ।
उनले बैठकमा भने, ‘परराष्ट्रमन्त्रीले आफ्नो तरिकाले बोल्नुहुन्छ ।’ बैठकमा लामिछानेको प्रस्तावमा नेपाली कांग्रेस केही लचक हुन खोजे पनि एमाले नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत भने त्यो बटम लाइनबाट पछि नहट्ने अडानमा छन् ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, प्रमुख सचेतक वासना थापा, एमालेबाट उपाध्यक्ष रामबहादुर थापा बादल, उपनेता पद्मा अर्याल र प्रमुख सचेतक ऐन महर छन् । नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन, प्रवेश हमाल र युवराज दुलाल सहभागी छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दलका नेता ज्ञानबहादुर शाही र प्रमुख सचेतक खुश्वु ओलीसहितका नेताहरूसँग सहभागी रहेका छन ।