पुरानाको विरोध गर्दा जनता किन खुसी भए भन्नेबारे समीक्षा हुनुपर्छः वर्षमान पुन

काठमाण्डु टुडे २०८३ वैशाख १३ गते १५:०१ मा प्रकाशित

काठमाण्डू, १३ वैशाख– पूर्व मन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले पुराना दलहरूको कमजोरीको जगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय भएको स्वीकार गरिनुपर्ने बताएका छन् ।

आज १७३ औँ विश्व मजदुर दिवसका सन्दर्भमा पार्टी सम्बद्ध मजदुर सङ्गठन अखिल नेपाल ट्रेड युनियन महासङ्घद्वारा काठमाण्डूमा आयोजित ‘वर्तमान राजनीतिक अवस्थामा ट्रेड युनियनको भूमिका’ विषयक अन्तर्क्रियामा बोल्दै पुनले यस्तो बताएका हुन ।

उनले ३६ वर्ष शासन सत्तामा रहेका कांग्रेस–एमाले र १८ वर्ष सत्तामा बसेका आफूहरूको कमजोरीको जगमा देशमा लोकप्रियतावादीहरूको जन्म भएको स्विकार्न हिचकिचाउन नहुने पनि बताएका छन ।

पुराना दल, नेता तथा लोकतान्त्रिक संस्थाहरूको विरोध गर्दा जनता किन खुसी भए भन्नेबारे गम्भीर समीक्षा गरेर अघि नबढे आफूहरूतर्फ जनमत फर्कने सम्भावना नरहेको पुनले बताए ।

पुनले भने, ‘अरू साथीहरू ३६ वर्षदेखि र हामी १८ वर्षदेखि सत्तामा छौँ । बिना कारण त मानिसमा निराशा आएन । पुराना राजनीतिक पार्टीका नेता र दलहरूको विरोध गर्दा जनता किन खुसी भए भनेर हामीले आफूलाई हेर्नुपर्छ ।

विद्यालय र विश्वविद्यालयमा हामीले विद्यार्थी सङ्गठन, उद्योग प्रतिष्ठानमा मजदुर सङ्गठन, सरकारी निकायमा कर्मचारी सङ्गठन र शैक्षिक संस्थामा शिक्षक सङ्गठनको परिचालनमा हामी कहाँ चुक्यौँ ? किन नागरिक संस्थाहरू खारेज हुनुपर्छ भन्दा जनता खुसी हुने अवस्था आयो ? लोकतान्त्रिक अधिकार खुम्चिँदा पनि नागरिक खुसी हुने अवस्था कसरी आयो ? यसमा पार्टीहरूले र नेताहरूले पनि आफ्ना कमजोरीको गम्भीर आत्मसमीक्षा गर्न जरुरी छ ।’

विश्वभर नै उदार लोकतन्त्रको असफलतापछि नवउदारवादी व्यवस्था उदाएको र नवउदारवादसँगै लोकप्रियतावाद अगाडि आएको चर्चा गर्दै उनले त्यसैको बाछिटा नेपाली राजनीतिमा परेको दाबी गरे । लोकप्रियतावादी शक्तिले जनमतबाट आएर शासन गर्ने प्रवृत्ति संसारभर नै रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us