नेपाली कांग्रेसले गर्‍यो संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

काठमाण्डु टुडे २०८३ वैशाख ११ गते १५:३९ मा प्रकाशित

काठमाण्डू, ११ वैशाख– कांग्रेस प्रतिनिधिसभाअन्तर्गत संसदीय दलको नेता चयन प्रक्रिया हाललाई स्थगित गरेको छ । निर्वाचन तालिकासमेत प्रकाशित भइसकेको अवस्थामा कांग्रेसले निर्वाचन स्थगित गरेको हो ।

निर्वाचनको नयाँ मिति भने नतोकिएको निर्वाचन समिति सदस्य मुना भुसालले जानकारी दिए । दलको नेता सहमतिमा चयन गर्नका लागि उपसभापति विश्व प्रकाश शर्माको नेतृत्वमा सात सदस्य समिति बनाइएको थियो ।

उपसभापति समितिमा पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, निर्वाचन समितिका संयोजक प्रकाश रसाइली ‘स्नेही’, मुना सदस्य भुसाल र राजु कटुवाल थिए ।

कांग्रेस संसदीय दलको नेता चयनमा सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माबीच पनि कुरा मिलेको छैन । सभापति थापाले रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यलाई अघि सारेका छन् भने उपसभापति शर्माले समानुपातिक सांसद भीष्मरा आङ्देम्बेलाई अघि सारेका छन् ।

त्यस्तै समानुपातिक सांसद अर्जुननरसिंह केसीले पनि सहमतिमा नभए आफू संसदीय दलको नेतामा चुनाव लड्ने जानकारी नेताहरूलाई गराइसकेका छन् । नेताहरूबीच दलको नेता चयनको विषयमा सहमति नजुट्दा आज हुने भनिएको निर्वाचन नै स्थगित भएको एक नेताले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us