उद्योगी शेखर गोल्छा पक्राउ

काठमाण्डु टुडे २०८३ वैशाख १० गते २०:०० मा प्रकाशित

काठमाडौं, १० वैशाख- सेयर बजारमा अनियमितता गरेको आरोपमा उद्योगी शेखर गोल्छालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल धितोपत्र बोर्डको प्रारम्भिक प्रतिवेदनका आधारमा उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।
सीआईबीका अनुसार धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतका विभिन्न दफाअनुसार कसुर देखिएकाले गोल्छामाथि अनुसन्धान अघि बढाइएको छ। उक्त प्रतिवेदनले सेयर बजारमा कृत्रिम रूपमा मूल्य बढाउने र त्यसबाट लाभ लिने गतिविधि भएको संकेत गरेको छ ।
धितोपत्र बोर्डको अध्ययनमा केही व्यक्तिहरूले सस्तोमा सेयर किनेर मूल्य बढाएपछि बीमा कम्पनीहरूलाई महँगोमा बिक्री गर्ने गरेको उल्लेख छ । यस क्रममा बीमा कम्पनीहरूको लगानी फन्डसमेत प्रयोग भएको देखिएको छ ।
अनुसन्धानले विवादित व्यवसायी दीपक भट्ट र एक स्टक ब्रोकिङ कम्पनीका प्रमुखलाई मुख्य योजनाकारका रूपमा औंल्याएको छ । भट्ट यसअघि नै सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा पक्राउ परिसकेका छन् भने अर्का व्यक्ति अझै फरार छन् ।
प्रतिवेदनमा विभिन्न कम्पनी र व्यक्तिहरूको समेत संलग्नता औंल्याइएको छ, जसमा केही बीमा, पुनर्बीमा र लगानीसम्बन्धी संस्थाहरूका नाम पनि जोडिएका छन्। प्रहरीलाई ती सबैमाथि थप अनुसन्धान गर्न सिफारिस गरिएको छ।
यस प्रकरणले नेपालको सेयर बजारमा पारदर्शिता र नियमनबारे पुनः प्रश्न उठाएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us