संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक

काठमाण्डु टुडे २०८३ वैशाख १० गते १२:२६ मा प्रकाशित

काठमाण्डू, १० वैशाख– आज (बिहिबार) प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक बस्दै छ ।

बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । आजको बैठकमा विभिन्न राजनीतिक दलहरूले उपलब्ध गराएका लिखित धारणाका आधारमा पहिचान गरिएका संविधान संशोधनका मुद्दाहरूका बारेमा विस्तृत छलफल हुने स्रोतले जानकारी दिएको छ ।

यसका साथै, कार्यदलले आगामी दिनमा गर्ने कामकारबाही र प्रस्तावित कार्ययोजनाका विषयमा पनि बैठकमा छलफल हुने कार्यसूची रहेको छ । संविधानलाई थप परिष्कृत र समयसापेक्ष बनाउनका लागि राजनीतिक दलहरूको सुझावलाई समेत समेटेर साझा बहसपत्र तयार गर्ने जिम्मेवारी यो कार्यदललाई दिइएको छ । ‘पत्र बुधबार मात्र पाएका छौँ ।

यसबारे पार्टीमा छलफल नगरी अहिले नै सुझाव दिने कुरा भएन । यद्यपि आजको बैठकमा कुन कुन दलले सुझाव ल्याउँछन् र कस्ता एजेन्डा बन्छन् त्यसमा निर्भर पर्छ’, नेकपा एमालेका तर्फबाट कार्यदलमा रहेका डा.भीष्म अधिकारीले जानकारी दिए ।

कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मोहन आचार्य, एमालेको तर्फबाट संविधान सभाका सदस्य एवं डा. भीष्म अधिकारी, नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट संविधान सभाका सदस्य एवं पूर्व कानुन मन्त्री देवप्रसाद गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट संसदीय दलका नेता ज्ञानेन्द्र शाही र राष्ट्रिय जनमोर्चाका तर्फबाट महासचिव मनोज भट्ट, श्रम संस्कृति पार्टीका तर्फबाट ध्रुवराज राई, जनता समाजवादी पार्टी नेपालबाट सुरेन्द्रकुमार झा, लोसपाबाट आभास लाभ सदस्य छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us