सेयर बजारमा आतंकित पार्ने काम भयो, आत्तिनु पर्दैनः अर्थमन्त्री वाग्ले

काठमाण्डु टुडे २०८२ चैत २३ गते १४:१० मा प्रकाशित

काठमाण्डू, २३ चैत– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारलाई अनावश्यक आतंकित पार्ने काम भएको बताएका छन । आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारीसँग भएको भेटवार्ताका क्रममा आज (सोमबार) वाग्लेले बजारमा अनावश्यक त्रास फैलाउने काम भइरहेको भन्दै नआत्तिन अनुरोध समेत गरेका छन ।

सरकारले लगानीकर्तामाथि कुनै कारबाही गर्ने उद्देश्य नराखेको स्पष्ट पार्दै उनले अनैतिक कार्य गर्नेलाई मात्रै कानुनबमोजिम नै कारबाही हुने पनि बताएका छन ।

अर्थमन्त्री वाग्लले भने, ‘सेयर बजार नेपालका अन्य क्षेत्रभन्दा बढी व्यवस्थित र पारदर्शी छ, ‘पेपरलेस प्रणाली, बैंकमार्फत कारोबार, लाभांश सिधै खातामा, कर प्रणाली स्पष्ट, कसले किन्योरबेच्यो भन्ने ट्र्याक गर्न सकिने भएकाले यो प्रणाली विश्वसनीय छ।’ सेयर बजारलाई सरकारले डिजिटलाइजेसनको नमूना क्षेत्रको रूपमा लिएको उनले बताए ।

तर यदि बजारमा कसैले इन्साइडर ट्रेडिङ, म्यानिपुलेसन, अन्य अनैतिक काम गरेको छ भने विद्यमान कानुन अनुसार कारबाही हुने उनले स्पष्ट पारे । ‘अहिले लगानीकर्ता प्यानिक हुन आवश्‍यक छैन, आगामी दिनहरूमा सेयर बजार सुधारका लागि पनि काम हुने छन्’ उनले भने । नेप्से पुनर्संरचना प्रतिवेदन अध्ययन गरेर सुधार अघि बढाइने उनले स्पष्ट पारे ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको बाचापत्रका बुँदा ३३ र ३४ कार्यान्वयन गर्ने हो, लगानीकर्ताले अध्ययन गरे हुन्छ । सेयर बजारप्रति हामी कति उदार छौँ, त्यसबाटै स्पष्ट हुन्छ’ उनले भने । बजारमा पनि सुनौला दिन आउने उनले बताए ।

अहिले सरकारको प्राथमिकता नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्नु रहेको उनले बताए । ‘ग्रे लिस्टबाट मुलुकलाई बाहिर ल्याउने सवालमा कागजमा मात्रै कुरा गर्ने तर बाहिर नगर्ने गरेको भ्रम छ, हामी अहिले लागु पनि गर्ने चरणमा प्रवेश गरेका हौँ’ उनले भने । सम्पत्ति शुद्धीकरण लगायतका वित्तीय अपराधमा वर्षौंदेखि भएका अनुसन्धान अकाट्य प्रमाणका आधारमा मात्रै अहिले अघि बढेको उनले बताए ।

‘संस्था वा व्यक्ति छानेर दुखः दिने हाम्रो कुनै नियत छैन । हामी खुलाबजार अर्थनीति मान्छौँ त्यो भनेको छाडा अर्थतन्त्र होइन’ उनले भने । न्याय निरूपणको काम अदालतबाट हुने भएकाले कसैलाई लक्षित गरेर कारबाही गर्ने नभई कानुनअनुसार अघि बढाउने पनि उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us