नागरिकताको प्रतिलिपि र राहदानी जुनसुकै जिल्लाबाट लिन सकिने

काठमाण्डु टुडे २०८२ चैत १५ गते १३:२२ मा प्रकाशित

काठमाण्डू, १५ चैत– सरकारले नागरिकलाई सेवा प्रवाहमा सहजता प्रदान गर्न नागरिकताको प्रतिलिपि र राहदानी जुनसुकै जिल्लाबाट लिन सकिने व्यवस्था गर्ने भएको छ ।

(शुक्रबार) बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीमा यो विषयलाई प्राथमिकताका साथ समेटिएको छ । कार्यसूचीको बुँदा नम्बर २१ मा नागरिकताको प्रतिलिपि तथा राहदानी सेवा जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट प्राप्त गर्न सकिने व्यवस्था तत्काल लागू गरिनेछ। यसका लागि सरकारले डिजिटल तथा एकीकृत प्रणालीको प्रयोग गर्ने योजना बनाएको छ ।

यसअघि यस्ता कागजात बनाउन आफ्नै गृह जिल्ला पुग्नुपर्ने वा लामो प्रक्रिया झेल्नुपर्ने बाध्यता थियो। अब भने वडास्तरबाटै डिजिटल सिफारिस प्रणाली लागू गर्ने र राष्ट्रिय परिचयपत्रलाई अनिवार्य एकल परिचयको रूपमा प्रयोग गरी सेवालाई झन्झटमुक्त बनाइनेछ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us