प्रतिशोध र आवेगले आगो बाल्छ- योगेश भट्टराई

काठमाण्डु टुडे २०८२ चैत १४ गते १५:५१ मा प्रकाशित

काठमाण्डू, १४ चैत– एमाले उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी  ओली पक्राउको घटनालाई संसद, सडक र न्यायलय तीनतिरबाट प्रतिवाद गर्ने बताएका छन् ।

पार्टी कार्यालय च्यासलमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै उनले गैरसंवैधानिक र गैरकानूनी रूपले अध्यक्ष ओलीलाई पक्राउ गरिएकोले सशक्त विरोध गर्ने बताएका हुन् ।

उनले एमालेले कानूनी र संवैधानिक सीमाभित्र रहेर संयमित तर प्रभावकारी विरोध कार्यक्रम सञ्चालन गर्ने बताए।

उनले सरकारलाई जनमतको दुरूपयोग नगर्न पनि आग्रह गरे। प्रतिशोध र आवेगबाट प्रेरित निर्णयले समाधान नदिई झन् द्वन्द्व बढाउने उनको भनाइ छ ।

उनले भने, ‘यो गैरसंवैधानिक र गैरकानूनी रहेको छ। गैरसंवैधानिक र गैरकानूनी भएकोले यसलाई हामी संसदमा पनि उठाउँछौं । सडकबाट पनि हामी यसको प्रतिरोध गर्नेछौँ । कानूनी हिसाबले हाम्रा कानून व्यवसायीहरूसँग समन्वय गरेर न्यायालयमा पनि जान्छौँ । कानूनी र सडक दुबै मोर्चाबाट हामी विरोधमा उत्रिन्छौँ । हाम्रो विरोध संयमित हुन्छ। एमाले जिम्मेवार पार्टी हो, हाम्रा सबै विरोधका कार्यक्रमहरू संयमित हुन्छन्, उच्छृङ्खल हुँदैनन् । कानुनी र संवैधानिक घेराभन्दा बाहिर हामी जाँदैनौं । कानूनप्रति, संविधान, न्यायालयप्रति हामीलाई विश्वास छ । हामी यो सरकारलाई पनि जुन जनमत प्राप्त गरेको छ, त्यो जनमतको दुरूपयोग नगर्न आग्रह गर्छु । प्रतिशोध र आवेगले निष्कर्ष निस्किँदैन, त्यसले आगो बाल्छ ।’

उनले जेनजी आन्दोनलको घटना छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन त्रुटिपूर्ण रहेको बताए । उनले भदौ २३ र २४ गतेको घटनालाई निष्पक्ष र न्यायिक छानबिन गर्नको लागि बहालवाला सर्वोच्च अदालतका न्यायाधीशको अध्यक्षतामा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने बताए ।

न्यायिक समितिबाट आउने निष्कर्ष स्वीकार्य हुने उनको भनाइ छ ।

कार्की आयोगको प्रतिशोधपूर्ण प्रतिवेदनलाई एमालेले मात्रै नभई पूरा देशले नै अस्वीकार गरेको उनको भनाइ छ ।

न्युज एजेन्सी नेपाल

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us