सरकारले चालेको कदम नेपालको कानुन र अपराधशास्त्रसँग मेल खाँदैनः अग्नि खरेल

काठमाण्डु टुडे २०८२ चैत १४ गते १२:२३ मा प्रकाशित

काठमाण्डू, १४ चैत– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेपछि एमाले नेता तथा पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले सरकारको कदम पूर्ण रूपमा गैरकानुनी र प्रतिशोधपूर्ण भएको तर्क गरेका छन ।

आज (शनिबार) एमालेको मुख्यालय च्यासलमा पत्रकारहरूसँग कुराकानी गर्दै खरेलले यस्तो तर्क गरेका हुन । उनले सरकारले चालेको कदम नेपालको कानुन र अपराधशास्त्रसँग मेल नखाने भन्दै कडा आपत्ति समेत व्यक्त गरेका छन । खरेलले कार्की आयोगको प्रतिवेदनलाई आधार बनाएर सरकारले टेक्न नै नपर्ने ठाउँमा टेकेर कारबाही अगाडि बढाएको दाबी गरे ।

उनले पक्राउको शैली बिल्कुल गैरकानुनी, प्रतिशोधी र एकलकाँटे भएको उल्लेख गर्दै यसलाई निन्दनीय कार्यको संज्ञा दिएका छन । अध्यक्ष ओली स्वयंले पनि यस कदमविरुद्ध कानुनी प्रतिरक्षा गर्न आफू तयार रहेको र कानुनी लडाइँ लड्ने सन्देश दिएको खरेलले जानकारी दिए। यस विषयमा पार्टीभित्र गम्भीर छलफल भइरहेको र छिट्टै एमालेले आफ्नो आधिकारिक धारणा बाहिर ल्याउने उनले प्रस्ट पारे ।

सरकारको यो कदमविरुद्ध पार्टी कसरी अगाडि बढ्छ भन्ने पत्रकारको प्रश्नमा खरेलले एमाले सबै खालका लडाइँमा अगाडि जाने चेतावनी दिएका छन ।

सरकारले गलत ढंगले कदम चालेकाले अदालत र सडक दुवै मोर्चाबाट प्रतिकार हुने उनको भनाइ छ। ‘सडक पनि तात्छ भनेर बुझ्दा हुन्छ ?’ भन्ने पत्रकारको प्रश्नमा खरेलले ‘त्यसबाट जे बुझ्नुहुन्छ, त्यही बुझ्नुस्’ भन्दै आवश्यकताअनुसार सडक आन्दोलनमा जाने स्पष्ट संकेत गरे।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us