नयाँ राहदानी छाप्न आवश्यक तयारी पूरा

काठमाण्डु टुडे २०८२ चैत १२ गते १५:३४ मा प्रकाशित

काठमाण्डू, १२ चैत– परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले नयाँ कम्पनीबाट राहदानी छाप्ने कामको आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

राहदानी विभागले सकेसम्म जेठको पहिलो साता, नभए जेठ महिनाभित्रै नयाँ कम्पनीले छापेको राहदानी प्रयोगमा आइसक्ने जानकारी दिएको छ । त्यो बेला केही समय राहादनी वितरण प्रणाली प्रभावित हुने बताइएको छ ।

राहदानी खरिदका लागि नयाँ आपूर्तिकर्तासँग सम्झौता गरी नयाँ प्रणालीमार्फत राहदानी जारी गर्न राहदानी प्रणाली, राहदानी पुस्तिका लगायतको आवश्यक तयारी गरिसकेको विभागको भनाइ छ । अबको एक दुई महिनाभित्र हालको प्रणालीमा बदली हुने र उक्त अन्तरिम अवस्थामा प्रणाली स्थिरीकरण नभएसम्म सेवा केही प्रभावित हुने विभागले जनाएको छ ।

विभागका निर्देशक एवं प्रवक्ता सोमेश थापाले नयाँ कम्पनीको राहदानी आउन थालेपछि केही समस्या हुनसक्ने बताए । ‘समस्या हुन्छ नै भन्ने छैन, तर समस्या भइहालेछ भने पनि केही दिनका लागि मात्र हुनेछ,’ उनले भने ।

जिल्ला प्रशासन तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन हप्तासम्म बन्द हुनसक्ने, राहदानी विभागबाट प्रदान गरिने राहदानी सेवा एरिब एक हप्तासम्म बन्द हुने सक्ने विभागले जनाएको छ ।

नयाँ प्रणाली कार्यान्वय भएपश्चात प्रणाली स्थिरीकरण हुन एक देखि तीन महिनासम्म लाग्ने भएकाले सो अन्तरिम अवधिमा जिल्ला प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिँदा राहदानी तयार भई जारी हुन हालको भन्दा बढी समय लाग्न सक्ने विभागको भनाइ छ ।

विभागले नयाँ राहदानी छाप्ने जिम्मेवारी जर्मनीका दुई कम्पनी भेरिडोस र मुलभौरलाई दिइसकेको छ । ती कम्पनीले राहदानी छाप्ने सम्पूर्ण तयारी पूरा गरिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us