कार्की आयोग प्रतिवेदनः एआईजी शाहलाई कारबाही र पुरस्कार दुवै सिफारिस

काठमाण्डु टुडे २०८२ चैत १२ गते १३:२१ मा प्रकाशित

काठमाण्डू, १२ चैत– गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनले एकै व्यक्तिमाथि कारबाही र पुरस्कार दुवै सिफारिस गरेको भेटिएको छ ।

आन्दोलनका बेला प्रहरी प्रधान कार्यालयको कार्य विभाग (हाल प्रहरी एकेडेमी) मा रहेका एआईजी सिद्धिविक्रम शाहलाई कारबाही र पुरस्कार दुबै सिफारिस गरिएको भेटिएको हो ।

आयोगको प्रतिवेदनको पृष्ठ ६८९ मा एआईजी शाहलाई पुरस्कृत गर्नुपर्ने आयोगले औंल्याएको छ । ‘२४ भदौमा टंगालको भाटभेटेनी र नक्लासको हिल्टन होटल जलाई प्रहरी प्रधान कार्यालय आक्रमण गर्न खोज्दा कार्य विभाग प्रमुख एआईजी शाहले आक्रमणकारीलाई मुल गेटभित्र प्रवेश गर्न नदिई नेतृत्वदायी भूमिका निर्वाह गरी प्रहरी प्रधान कार्यालय पूर्णरुपमा सुरक्षित राख्न सफल भएको हुँदा उनलाई प्रहरी प्रधान कार्यालयले पुरस्कृत गर्नुपर्ने देखिन्छ’ प्रतिवेदनमा भनिएको छ ।

सँगै एआईजी शाहलाई आयोगले कारबाहीका लागि पनि सिफारिस गरेको छ । आयोगको पृष्ठ ७२५ मा कारबाही सिफारिस विवरणमा एआईजी शाहको नाम उल्लेख गरिएको छ ।

एआईजी शाहलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ । प्रहरी ऐन २०१२ को दफा ९ को उपदफा ९४० र प्रहरी नियमावलीको नियम १०९ अनुसार कारबाही गर्नुपर्ने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us