महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हटाउन लागेको भन्दै विरोध प्रदर्शन

काठमाण्डु टुडे २०८२ चैत १२ गते १३:०५ मा प्रकाशित

काठमाण्डू, १२ चैत– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हटाउन लागिएको भन्दै विरोध प्रदर्शन भएको छ । महिला तथा मानव अधिकारकर्मीहरूले आज (बिहीबार) काठमाण्डूको माईतीघरमा विरोध प्रदर्शन गरेका हुन ।

नयाँ सरकार बनाउन लागेको राष्ट्रिय स्वन्तन्त्र पार्टी (रास्वपा) ले मन्त्रालयको संख्या घटाउने तयारी गरेको छ । मन्त्रालयको संख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई स्वास्थ्य तथा जनसख्या मन्त्रालयमा गाभ्ने तयारी गरेपछि महिला अधिकारकर्मीहरूले विरोध जनाएका हुन् ।

रास्वपाले यी दुई मन्त्रालय गाभेर स्वास्थ्य तथा समाजकल्याण मन्त्रालय बनाउने तयारी स्रोतले जानकारी दिएको छ । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले निर्णय भइसकेपछि निर्णय बदल्न गाह्रो हुने भएकोले निर्णय अगावै खबरदारी गरेको बताइन् ।

राज्यको खर्च कटौती गर्ने नाममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समाहित गर्ने आफूले जानकारी पाएको उनले बताइन् ।

जनसंख्याको ५१ प्रतिशत महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकको सवाललाई महिला मन्त्रालयले सम्बोधन गरिरहेको उनको भनाइ छ ।

उनले १८–४९ वर्षका सवालङ्ग बाहेक अन्य नागरिकको संरक्षण गर्ने मन्त्रालयलाई कटौती गर्नु आपत्तिजनक भएको बताइन् । उनले यो मन्त्रालयलाई अझ सशक्त बनाउन आवश्यक रहेको बताइन् ।

पछिल्लो समय जिल्लास्थित महिला विकास कार्यलय खारेज गरिँदा समस्या उत्पन्न भएको उनले बताइन् । आयोगले जिल्लामा रहेको महिला विकास कार्यलयलाई पुन सञ्चालनमा ल्याउन आग्रह गरे पनि सरकारले नसुनेको उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us