काठमाण्डू, १२ चैत– कांग्रेसका नेता डा. प्रकाशरण महतले पार्टीमा एकता कायम गर्न सबै तहको भूमिका जरुरी रहेको बताएका छन । पार्टीको केन्द्रीय कार्यसमितिले १५ औं महाधिवेशनको कार्यतालिका पारित गरेको भोलिपल्ट कांग्रेस नेता महतले एकता कायम गर्नका लागि सबै तहको भूमिका जरुरी रहेको बताएका हुन ।
कांग्रेस नेता महतले भनेका छन, ‘पार्टीको जिम्मेवारीमा रहनुभएका साथीहरूले विशिष्ठ चुनौतीपूर्ण अवस्थामा एकतामा जोडिने परिस्थिति निर्माणका लागि योगदान पुर्याउन सबै तहको भूमिका जरूरी छ,’ महतले भिडियो सन्देश जारी गर्दै भनेका छन्, ‘त्यस किसिमबाट पनि हामी आ–आफ्नो तहबाट भूमिका निर्वाह गर्न लागौं ।’
मानसिक र भौतिक रूपमा एकीकृत हुन नसके पार्टी बलियो हुन नसक्नेभन्दै उनले अहिलेको विशिष्ठ चुनौतीपूर्ण अवस्थामा झन् सम्भव नहुने जिकिर गरेका छन् । जबसम्म हामी मानसिक र भौतिक रूपमा एकीकृत हुन सक्दैनौं, यो पार्टी बलियो हुन सक्दैन,’ महतले भिडियोमा भनेका छन्, ‘अहिलेको जुन विशिष्ट चुनौतीपूर्ण अवस्थामा झन् सम्भव हुँदैन ।’
महतले पार्टीपंक्तिमा रहेको निराशाको अवस्थालाई आशामा रूपान्तरिक गर्न आवश्यक रहेको पनि बताएका छन् । ‘त्यसका लागि हामी फेरि एकजुट भएर जान जरूरी छ,’ उनले भनेका छन् । निवर्तमान प्रवक्तासमेत रहेका महतले पार्टीमा सहमतिको वातावरण निर्माणका लागि आफ्नो तहबाट हुने योगदान गर्न तयार रहेको पनि उल्लेख गरेका छन् ।
‘सहमतिको वातावरण बनोस् । साझा सूत्रमा हामी जोडिन सकौं भन्नका लागि मेरो तहबाट हुने योगदान गर्न म तयार छु, ‘तर, त्यसमा सम्बन्धित पक्ष सबै साथीहरूले त्यही किसिमबाट सोच राख्न जरूरी छ ।’