कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने पुष्टि भयोः एमाले महासचिव पोखरेल

काठमाण्डु टुडे २०८२ चैत १२ गते १२:२२ मा प्रकाशित

काठमाण्डू, १२ चैत– एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनका घटना जाँचबुझ गर्न गठित आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगकै प्रतिवेदनले पुष्टि गरेको बताएका छन ।

एमाले महासचिव पोखरेले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएका हुन । एमाले महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन, ‘कार्की आयोग र आम निर्वाचन ०८२ अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानूनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट छ,’ महासचिव पोखरेलले भनेका छन्, ‘सोही अनुसारको निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको छ ।’

उनले निर्वाचन र आयोगको प्रतिवेदनसँगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर रहेको समेत उल्लेख गरेका छन् । ‘अल्गोरिदमको प्रयोगबाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणबाट नयाँ शक्तिको उदय भएको छ । अबको बाटो सजिलो नहुन सक्छ– राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने देखिन्छ ।’

यस्तो अवस्थामा ‘नयाँ शक्ति’ र ‘नेतृत्व’लाई उनीहरूको दृष्टिकोणअनुसार काम गर्ने अवसर दिनु र जनतालाई प्रत्यक्ष अनुभवमार्फत मूल्यांकन गर्न दिनु नै सम्भवतस् विवेकपूर्ण कदम हुन सक्ने उनको धारणा छ ।

उनले भनेका छन्, ‘तर पनि सत्य कुरा के हो भने– लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद आजका चुनौतीहरुको समाधानको बाटो होइन र विचारधारात्मक राजनीतिको दीर्घकालीन विकल्प पनि होइन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us