मन्त्री चयनको अन्तिम गृहकार्यमा रास्वपा

काठमाण्डु टुडे २०८२ चैत १० गते १४:३२ मा प्रकाशित

काठमाण्डू, १० चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बालेन शाह नेतृत्वको नयाँ सरकारमा बन्ने मन्त्री चयनको अन्तिम गृहकार्यमा जुटेको छ । रास्वपा स्रोतका अनुसार केही व्यक्तिहरुको मन्त्रालय टुंगो लागिसके पनि केहीको बाँकी छ ।

ती बाँकी भएकाहरुसँग पार्टी सभापति रवि लामिछाने अन्तिम छलफलमा जुटेका छन । बालेन यही चैत १३ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने तयारीमा रहेका छन । सोही दिन सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी रहेको छ ।

हालसम्म १५ देखि १८ सदस्यीय मन्त्रिपरिषद बनाउनेबारे छलफल भइरहेको स्रोत बताउँछ । रास्वपाले चुनावी वाचापत्रमा मन्त्रालय १८ मा सीमित गर्ने उल्लेख गरेकाले त्यो भन्दा ठूलो आकारको मन्त्रिपरिषद नबनाउनेबारे छलफल भइरहेको नेताहरुले बताएका छन् ।

केही मन्त्रालय गाभेर सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी भइरहेको बताउँदै रास्वपाका एक नेताले भने, ‘मन्त्रीमा कतिपय अनएक्सपेक्टेड नाम आउन सक्छ ।’ पार्टी सञ्चालनको लागि टिम चाहिने भएकाले सचिवालय तहका केही नेतालाई भने ‘रिजर्भ’ मा राख्ने तयारी रास्वपाको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us