काठमाण्डू, १० चैत– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ताविरुद्धको रिट सर्वोच्च अदालतमा आज पनि निरन्तर सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अव्दुल अजीज मुसलमानको इजलासमा सोमबारदेखि सो रिट हेर्दाहेर्दैमा राखेर सुनुवाइ भइरहेको छ । सोमबार रिट निवेदकका कानुन व्यवसायीले सुरुआती बहस गरेका थिए । रिट निवेदकको बहस बाँकी नै छ । त्यसपछि लामिछाने पक्षका कानुन व्यवसायीले प्रतिरक्षामा बहस गर्नेछन् ।
यसअघि न्यायाधीश सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले लामिछानेसहितको मुद्दा संशोधनको निर्णय सच्चाइएको फाइल झिकाउन आदेश दिएको थियो । महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन रहेको सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन् ।
पछि सो निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले रिट दायर गरेका थिए । महान्यायाधिवक्ता भण्डारीले पुस ३० गते सदर गरेको सात पृष्ठ लामो ‘टिप्पणी र आदेश’ मा लामिछानेलाई सहकारी ठगीमा मात्र मुद्दा चलाउने र अन्य दुई गम्भीर प्रकृतिका मुद्दा हटाउन जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिइएको थियो ।