काठमाण्डू, ९ चैत– कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्ने भएको छ । बैठक भोलि दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन ।
भोलीको बैठकमा पार्टीको १५ औं महाधिवेशनको मिति तय गर्नेबारे छलफल हुने कांग्रेसका एक पदाधिकारीले जानकारी दिएका छन । उनले भने, ‘भोलिको बैठकले पार्टीको १५औं महाधिवेशन मिति तोक्न सक्नेछ ।’
यसअघि शुक्रबार र आइतबार दुई दिन केन्द्रीय कार्यसमिति बैठक बसेको थियो । बैठकले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा पार्टीले भोगेको पराजयबारे समीक्षा गरेको थियो । त्यस्तै पार्टी उपसभापति विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदनमाथि छलफल गरी उक्त प्रतिवेदनलाई दस्तावेजको रुपमा स्वीकार गर्ने निर्णय गरेको थियो ।