काठमाण्डू, ८ चैत -कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ ।
उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा आइतबार बसेको बैठकले सभापति थापाले पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो । पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनबाट सभापति चुनिएका थापाले गत बुधबार राजीनामा दिएका थिए ।
प्रतिनिधिसभा निर्वाचनमा पार्टी हारको जिम्मेवारी लिँदै उनले राजीनामा दिएका हुन् । प्रवक्ता देवराज चालिसेले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरिएको जानकारी दिए ।
पार्टी पराजित हुनुको कारण नेतृत्व नभई संरचनागत समस्या र काबुबाहिरको परिस्थिति जिम्मेवार रहेको ठहर बैठकले गरेको उनको भनाइ थियो । ‘अहिलेको जटिल राष्ट्रिय परिस्थितिमा सभापति थापाको नेतृत्व अझ आवश्यक रहेको अनुभूति भएको छ ।
राजीनामा स्वीकार गर्दा पार्टीभित्र अनावश्यक अस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहेकोले राजीनामा अस्वीकार गर्ने निर्णय भएको हो,’ चालिसेले भने, ‘राजीनामा बाध्यकारी नभई नैतिक र स्वेच्छिक विषय भएकाले यसको सम्मान गर्दै अस्वीकार गर्नु उपयुक्त देखियो ।’
बैठकले सभापति थापा नेतृत्वमै १५औँ महाधिवेशन गर्ने निर्णय पनि गरेको छ ।