काठमाण्डू, ८ चैत– कांग्रेसका नेता श्याम घिमिरेले पार्टीभित्रको अन्तर्घात र विशेष महाधिवेशनका कारण पार्टीले निर्वाचनमा हार व्यहोर्न परेको तर्क गरेका छन । न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा घिमिरेले यस्तो बताएका हुन ।
उनले विशेष महाधिवेशनमार्फत भएका क्रियाकलापका कारण पराजय व्यहोर्नपरेको बताए । कांग्रेस नेता घिमिरेले भनेका छन, ‘विशेष महाधिवेशनको नाममा जे जस्तो भयो । त्यसको परिणाम पनि हामीले भोगिसक्यौँ ।
हामीले चुनावको मुखमा आएर हामीले ५ महिनासम्म पार्टी भित्र झगडा गर्दै रह्यौँ विशेष महाधिवेशन कि नियमित महाधिवेशन भनेर,‘यो झगडाले पार्टी भित्रको समग्र एकतालाई खल्बल्यायो । र त्यसको म्यासेज पनि जनतामा असाध्यै नराम्रोसँग गयो ।
त्यो निर्वाचनको पराजयका लागि पनि मुख्य कारण बन्यो ।’ पार्टीलाई सभापति गगन थापाको नेतृत्वमा अघि बढाउने परिणाम राम्रो आउनसक्ने विश्वास भएपनि अब त्यो टुटेको पनि उनले बताए ।
साथै, उनले गगन थापाको अनुहार देखाएर जुन भोट लिन सकिन्थ्यो त्यो अनावश्यक समयमा भएको जिकिर गरेका छन् । उनले भने, ‘हामीलाई लागि राखेको थियो–कि गगनजीको नेतृत्वबाट पार्टी अगाडि बढ्दाखेरी पार्टीले निकै राम्रो परिणाम दिनसक्छ भन्ने हामीलाई जुन विश्वास थियो । त्यो विश्वासको धरातल पनि टुटेको छ ।
अर्कोतर्फ सबभन्दा ठूलो क्षति भनेको पार्टीलाई के भयो ? भने मेरो बुझाईमा कि अर्को निर्वाचनका लागि हामीले गगनजीको अनुहार बेचेर, उहाँको अनुहार देखाएर हामीले पार्टीका लागि ठूलो भोट कलेक्शन गर्नसक्थ्यौं,’ घिमिरेले भनेका छन्, ‘त्यो भोट बैंक जुन हाम्रो थियो ।
अर्थात त्यो भोटका लागि हामीसँग एउटा आशाको अनुहार थियो । त्यो अनुहारलाई हामीले अहिले अनावश्यक टाईममा एक्स्पोज गर्यौ । त्यो भने काँग्रेसको अपूरणीय क्षति हो भन्ने मैले बुझेको छु ।’