अब आफ्नै खर्चमा महाधिवेशन गर्छौँः नेविसंघ सभापति शेर्पा

काठमाण्डु टुडे २०८२ चैत ८ गते १५:०८ मा प्रकाशित

काठमाण्डू, ८ चैत– लामो समयदेखि तदर्थवादमा अल्झिएको कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आगामी वैशाख २० र २१ गते आफ्नो १२ औँ महाधिवेशन गर्ने मिति तय गरेको छ ।

नेविसंघका सभापति दुजाङ शेर्पाले पार्टी नेतृत्वले समयमै विधान उपलब्ध नगराउँदा महाधिवेशन प्रक्रियामा ढिलाइ भएको बताएका छन । ३२ वर्षे उमेर हदबन्दी लागू भएपछि महाधिवेशन गर्ने म्यान्डेट पाएको वर्तमान कमिटीले विधान परिमार्जन गरी बुझाएको एक वर्ष हुन लाग्दा पनि पार्टीले त्यसलाई फिर्ता नदिएको उनले खुलासा गरे ।

सभापति शेर्पाका अनुसार यदि पार्टीले विधान समयमै दिएको भए सेप्टेम्बर ८ भन्दा अगाडि नै महाधिवेशन सम्पन्न भइसक्ने थियो । उनले आफ्नो कार्यकालका क्रममा पाँच पटकसम्म पार्टी नेतृत्वलाई राजीनामा बुझाए पनि नेतृत्वले ‘अधिवेशन गराएर मात्र छाड्नु’ भन्दै रोकेको जानकारी समेत दिए ।

पहिलो र दोस्रो स्ववियु निर्वाचनपछि आफूले पदबाट बाहिरिन खोजे पनि पार्टीका पदाधिकारीहरूको आग्रहमा जिम्मेवारी सम्हालिरहनु परेको उनको भनाइ छ । शेर्पाकै नेतृत्वमा भएको पछिल्लो स्ववियु निर्वाचनमा नेविसंघ देशभर पहिलो स्थानमा स्थापित हुन सफल भएको थियो ।

पार्टीभित्रको आन्तरिक गुटबन्दी र अनुशासनको समस्याबारे बोल्दै शेर्पाले अनुशासन समिति पाउनका लागि मात्रै आफूले झन्डै तीन वर्ष संघर्ष गर्नुपरेको दुखेसो पोखे ।

निर्वाचनका बेला हुने बागी उम्मेदवारी र आरोप–प्रत्यारोप नियन्त्रण गर्न संयन्त्र माग्दा समेत नेतृत्वले ढिलाइ गरेको उनले बताए। अब हुने महाधिवेशनमा विद्यार्थीले आफ्ना नेता र नीति आफैँ छान्ने बाटो खुलेको दाबी गर्दै उनले विद्यार्थी नेताहरूले पार्टीका नेताहरूको झोला बोक्ने दिन सकिएको उद्घोष गरे ।

महाधिवेशनलाई कम खर्चिलो र पारदर्शी बनाउन नेविसंघले नयाँ योजना अघि सारेको छ। विश्वभर छरिएका नेविसंघका पूर्व सदस्यहरूबाट स्वेच्छिक र पारदर्शी ढंगले कोष संकलन गरिने र यसका लागि पार्टीबाट कुनै आर्थिक सहयोग नलिइने पनि उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us