काठमाण्डू, ८ चैत– गृहमन्त्री ओमप्रकाश अर्याल र नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देलबीच भेटवार्ता भएको छ । प्रधानसेनापति सिग्देल अर्याललाई भेट्न आज (आइतबार) बिहान गृह मन्त्रालय पुगेका थिए। उनीहरूबीच झन्डै दुई घण्टा सघन छलफल भएको गृहमन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ ।
भेटवार्ताबारे दुवै पक्षले जानकारी गराएको छैन। उनीहरूबीच समसामयिक विषयमा छलफल भएको समेत बताइएको छ । प्रधानसेनापति सिग्देलले जेनजी आन्दोलनका घटनाबारे तयार पारिएको प्रतिवेदनबारे चासो राखेका छन् ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका घटनाको विस्तृत प्रतिवेदन गौरीबहादुर कार्की संयोजकत्वको समितिले प्रधानमन्त्रीलाई बुझाएको थियो । उक्त प्रतिवेदन सरकारले सार्वजनिक गरेको छैन । सरकारले प्रतिवेदनमाथि अध्ययन भइरहेको जनाएको छ ।