काठमाण्डू, ८ चैत– कांग्रेस गत २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कम्तीमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोगेको निष्कर्षमा पुगेको छ ।
पार्टीको जारी केन्द्रीय समितिको बैठकमा भएको समीक्षाबारे जानकारी गराउँदै प्रवक्ता देवराज चालिसेले ५ देखि ३ हजारभन्दा कम मतान्तरले हारिएका क्षेत्रहरूमा मुख्यतस् आन्तरिक कारण जिम्मेवार रहेको देखिएको जानकारी दिए । उनले ३ हजारदेखि ५ हजारसम्मको मतान्तरले हार भएका क्षेत्रहरुमा आन्तरिक मतभिन्नतासँगै निर्वाचन अभियानमै कमजोरी भएको बताएका छन ।
५ हजारदेखि १० हजारसम्मको ठूलो मतान्तरमा पराजित भएका क्षेत्रमा भने अन्तर्घात, कमजोर चुनावी क्याम्पेन र प्रतिकूल ‘न्यारेटिभ’ले पार्टीलाई रक्षात्मक बनाएको निष्कर्ष उनले जानकारी दिए । कांग्रेस प्रवक्ता चालिसेले भने, ‘निर्वाचनको सन्दर्भमा हाम्रो परम्परागत भोट कसरी ट्रान्सफर भयो भन्ने विषयमा हामी गहन छलफल गरिरहेका छौं ।
यो भोटको माईग्रेसन मात्रै हो कि माइन्डसेट नै माइगे्रशन भएको हो, त्यसलाई हामीले अत्यन्त गम्भीरतापूर्वक हेरिरहेका छौं । ५ देखि ३ हजारभन्दा कम मतले हाम्रो पार्टीको आन्तरिक कारणले पराजित भएको भन्ने हाम्रो निष्कर्ष छ ।
ती सिट संख्याहरू २०र२१ वटा निर्वाचन क्षेत्रहरु छन् ।’ केही क्षेत्रमा संगठनात्मक कमजोरी मात्र नभई मतदाताको कांग्रेसलाई गर्ने विश्वासमै कमी आएको देखिएको पनि उनले सुनाए । ८ लाख ५० हजारभन्दा बढी क्रियाशील सदस्य भएको कांग्रेसले अपेक्षित मत पाउन नसक्नु पनि गम्भीर प्रश्न बनेको उनको भनाइ छ । ‘ ३ हजारदेखि ५ हजार मत फरकमा पराजित हुनुको कारण निर्वाचन क्याम्पेनमा नै त्रुटी भएका कारणले हुनसक्छ । हामी त्यसमा समिक्षा गर्दैछौँ ।
५ हजारदेखि १० हजारसम्मको ठूलो मार्जिनमा हामी पराजित भएका छौं, कतिपय क्षेत्रहरुमा अन्तर्घात, क्याम्पेनमा समस्याका साथै केही न्यारेटिभका कारण पनि हामीलाई डिफेन्टिभ बनायो, त्यसमा हामी असफल भयौं,’ उनले सुनाए, ‘कतिपय क्षेत्रमा संगठानत्मक कमजोरी मात्रै नभईकन अझ बढी केही ठाउँहरुमा ठूलो मतान्तरमा चुनावको नतिजामा फरक देखिएको छ, त्यसमा जनताको विश्वासमा नै प्रश्न उठेको हो की भन्ने छ ।’
जारी केन्द्रिय समितिको बैठकमा मुख्यतस् निर्वाचन समीक्षा र सभापतिको राजीनामा सम्बन्धी दुई विषयमा केन्द्रित भएर छलफल भइरहेको जानकारी उनले गराए ।