काठमाण्डू, ७ चैत– सशस्त्र प्रहरी प्रधान कार्यालयले कैलालीको खक्रौलास्थित सीमा सुरक्षा गुल्मका गुल्मपति डिएसपी प्रदीप पौडेललाई जिम्मेवारीबाट हटाएको छ ।
जिम्मेवारी पुरा गर्न अक्षम रहेको तथा सुरक्षा लापरबाही गरेको भन्दै पौडेललाई प्रधान कार्यालय तानिएको हो । पौडेलसहित घटनाको समयमा ड्युटीमा खटिएका सशस्त्र प्रहरी कर्मचारीलाई समेत हेडेक्वार्टर तानिएको छ ।
अवैध रुपमा भारतबाट भित्र्याइएको भन्सार छलीको सामान नियन्त्रणमा लिएको विरोधमा ४ चैतमा उक्त स्थानीय व्यापारीको एक समूहले अनधिकृत रुपमा गुल्मभित्र प्रवेश गरी सशस्त्र प्रहरी कर्मचारीमाथि हातपात गरेको थियो । गुल्मपति पौडेल स्वयं व्यापारीको आक्रमणमा परेका थिए ।
युनिटको सुरक्षामा आवश्यक ध्यान नदिएको तथा गुल्मभित्र अनधिकृत व्यक्ति प्रवेश गर्दासमेत आवश्यक बल प्रयोग नगरेको देखिएकाले पौडेलसहित सम्वद्धहरुमाथि विभागीय कारबाहीको तयारी गरिएको प्रधान कार्यालयको भनाइ छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर–७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले ४३ नम्बर रिजर्भ गण वनवेहडा कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्की नेतृत्वको छानबिन समितिले घटनाबारे छानबिन गरिरहेको छ ।