कपिलवस्तु, ७ चैत– स्थानीय प्रशासनले कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले शनिबार दिउँसो २ बजेदेखि महाराजगञ्जको पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रमा सभा, जुलुश वा प्रदर्शन गर्न रोक लगाएको हो ।
महाराजगञ्ज बर्गदवाको वडा नम्बर २ र ३ को सीमा क्षेत्रमा मुस्लिम समुदायको ईद र हिन्दूहरुको नवरात्र मनाउने क्रममा भएको विवादले झडपको रुप लिएको थियो ।
हिन्दूको भजन र मुस्लिमको नमाजको आवाजले एकअर्को समुदायलाई असर गरेको भन्दै विवाद भएको थियो । विवादले झडपको रुप लिँदा प्रहरीसहित ६ जना घाइते भएका थिए । घाइते हुनेमा एक बालकसमेत छन् ।
यसैबीच स्थानीय प्राशासनले धार्मिक सहिष्णुता कायम गर्दै शान्ति सुरक्षा कायम गर्न संयमता अपनाउन अपिल गरेको छ । निषेधाज्ञापछि सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।