काठमाण्डू, ६ चैत– नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले मुलुकमा दुई तिहाइ बहुमतको सरकार बन्ने अवस्था आउँदा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक शृंखला रहेको भन्दै सचेत रहन अनुरोध गरेका छन ।
आज (शुक्रबार) भक्तपुरमा आयोजित नेपाल बार एशोसिएशन कानुन व्यवसायी महलिाहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष मिश्रले यस्तो बताएका हुन । साथै, उनले नयाँ सरकारलाई बारले ‘बेनिफिट अफ डाउट’ (शंकाको सुविधा) दिएपनि संविधानवाद मिचिएमा कडा कदम चाल्ने चेतावनी पनि दिएका छन ।
उनले भने, ‘जब दुई तिहाई सरकार आउँछ, तब न्यायपालिकालाई सबैभन्दा पहिला प्रहार गर्ने प्रचलन रहेको छ । नेपाल बार एशोसिएशन नवनिर्मित सरकारलाई बेनिफिट अफ डाउट दिन्छ, सरकारका सबै क्रियाकलापहरु संविधानवाद र कानून अनुरूप हुन् भन्ने हाम्रो शुभेच्छा छ ।’
०१५ सालमा दुई तिहाईको प्रधानमन्त्री बनेपछि बीपी कोइरालाको सरकारले कानूनको स्नातक (ल र्ग्याजुएट) नभएको भन्दै हरिप्रसाद प्रधानलाई हटाएर भगवतीप्रसाद सिंहलाई ल्याएको, २०१७ सालमा कांग्रेसबाट नियुक्त भएका न्यायाधीशहरूलाई पदमुक्त गरी जेल हालिएको र २०४८ सालमा कांग्रेसको बहुमत आउँदा शाखा अधिकृतमा फेल भएकालाई पुनरावेदनको न्यायाधीश र पास भएकालाई त्यही बेन्चको सहायक बनाएर न्यायपालिका सञ्चालन गरिएको इतिहास स्मरण गराए ।
त्यसैगरी, २०७४ सालको दुई तिहाइ बहुमतको सरकारले तत्कालीन कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई संसदीय सुनुवाइबाटै वञ्चित गरेर घर पठाएको घटनालाई ‘ताण्डव’को संज्ञा दिए ।
उनले यस्ता क्रियाकलाप अब न्यायपालिकामा दोहोरिन नहुनेमा जोड पनि दिए । उनले भने, ‘यो सरकार पाँचै वर्ष टिकोस् भन्ने चाहना हो । तर संविधानवाद र कानुनको शासनलाई चिर्न थालियो भने बारले आफ्नो पोजिसन लिन्छ । त्यसो गर्नु हाम्रो कर्तव्य पनि हो र हाम्रा पुर्खाले गर्दै आएको काम पनि हो,’ उनले भनेका छन् ।