काठमाण्डू, ६ चैत– महान्यायाधिवक्ता सविता भण्डारीले महिलाहरू उच्च पदमा पुग्दा महिलाहरूबाटै विरोध हुने गरेको भन्दै त्यसको सट्टा एक–अर्काको वकालत गर्ने संस्कार बसाल्न अनुरोध गरेकी छन ।
आज (शुक्रबार) भक्तपुरमा नेपाल बारले आयोजना गरेको कानून व्यवसायी महिलाहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन । उनले आगामी दिनमा न्यायपालिकामा महिला नेतृत्व पाउने आशा समेत व्यक्त गरेकी छन ।
सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल भोलिको प्रधानन्यायाधीश हुनेमा आफू विश्वस्त रहेको पनि उनले बताएकी हुन । उनले भनेकि छन, ‘हाम्रा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल भोलिको प्रधानन्यायाधीश हुनुहुन्छ भन्ने विश्वस्त पनि छौं ।
तर यसरी माथिल्लो पदमा कुनै महिला पुग्दाखेरि हामीले उहाँहरूका वकालत गर्ने हामीले बानी बसाल्नुपर्छ ।’ महान्यायाधिवक्ता भण्डारीले कानुन व्यवसायी महिलाहरू केवल पेशागत भुमिकामा मात्र सिमित नभई समाज परिवर्तनका वास्तविक संवाहक भएको बताइन् ।
महिला, बालबालिका, दलित, आदिवासी जनजाति र सीमान्तकृत समुदायको अधिकार संरक्षणमा महिला कानून व्यवसायीको भुमिका निर्णायक हुने उनले उल्लेख गरिन् ।
उनले भनिन्, ‘जब म महान्यायाधिवक्ताको पदमा मेरो मनोनयन भयो त्यही बेला मलाई केही पत्रकार मित्रहरूले मलाई प्रश्न गर्नुभयो । होइन, तपाईंको विरोध गर्ने त किन महिलाहरूले बढी देखिए ?
मैले भनें सायद हामीले हाम्रा वकालत गर्नै जानेनौं, ‘हामी महिला त भयौं तर महिलाको वकालत गर्न हामीले जानेनौं । सायद त्यसले गर्दाखेरि पनि ती प्रश्नहरू हामीप्रति बारम्बार आइराखे ।
त्यसैले म यहाँहरू समक्ष एउटा अनुरोध पनि गर्न चाहन्छु आगामी दिनमा न्यायपालिकामा पनि हामीले एउटा महिला नेतृत्व पाउने आश गरेका छौं ।’