इनिसा विक हत्याका दोषीलाई कारबाहीको माग राखेर माइतीघरमा प्रदर्शन

काठमाण्डु टुडे २०८२ चैत ६ गते १४:१९ मा प्रकाशित

काठमाण्डू, ६ चैत– सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै घटनामा संलग्न दोषीलाई कानुनी कारबाहीको माग गर्दै आज (शुक्रबार) पनि काठमाण्डूको माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

स्वतस्फुर्त रूपमा शुक्रबार माइतीघरमा भेला भएका युवाहरूले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न कडा कानुनी व्यवस्था आवश्यक रहेको भन्दै प्रदर्शन गरेका हुन् । दोषीलाई छिटो न्यायको दायरामा ल्याउन, पीडितलाई न्याय दिलाउन र महिला सुरक्षाका लागि ठोस नीति तथा कार्यान्वयन सुनिश्चित गर्न सरकारलाई उनीहरूले दबाब दिएका छन् ।

छोरीहरूको सुरक्षा गरौं, इनिसा विकलाई तुरुन्त न्याय दे, अपराधीहरूलाई लुकाउन पाइँदैन, हिँसा सहिँदैन न्याय चाहिन्छ लेखिएको प्लेकार्डकासाथै ब्यानर बोकेर प्रदर्शन गरेका थिए ।

सुर्खेतको गुर्भाकोट नगरपालिका–६ घर भएकी विकको गत २३ फागुन बिहान ट्युसन पढ्न भनी घरबाट निस्किएकी उनी अबेरसम्म घर नफर्केपछि खोजी गर्ने क्रममा वीरेन्द्रनगर–४ स्थित शहीदपार्क नजिकैको सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन ।

पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको देखिएपछि प्रहरीले अनुसन्धान जारी राखेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us