सिरहा बम विस्फोट प्रकरणमा एक पक्राउ

काठमाण्डु टुडे २०८२ चैत ६ गते १२:३५ मा प्रकाशित

काठमाण्डू, ६ चैत– सिरहा जिल्ला अदालतअगाडि बार एशोसिएसन कार्यालयमा भएको कुकर बम विस्फोट घटनामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा सुखीपुर नगरपालिका–३ निवासी गुमस्ता यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ । उनलाई शंकाको आधारमा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी रमेशबहादुर पालका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ । ‘हामीले शंकाको आधारमा एक जनालाई पक्राउ गरेका छौं, हाल चार दिनदेखि अनुसन्धान जारी छ ।’

अनुसन्धान निष्कर्षमा पुगेपछि मात्र विस्तृत विवरण सार्वजनिक गर्न सकिने उनले बताए । पक्राउ परेका यादव सिरहा अदालतअगाडि कार्यालय खोलेर लेखापढी गर्दै आइरहेका थिए ।

विस्फोटका कारण कार्यालयमा कार्यरत एक कर्मचारी समेत घाइते भएका थिए । घाइते हुनेमा सिरहा नगरपालिका–१ निवासी सौरभ यादव छन् । उनको खुट्टामा चोट लागेको थियो । घटनामा कार्यालयभित्र रहेका कम्प्युटर लगायतका सामग्रीमा पनि क्षति पुगेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us