काठमाण्डू, ६ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ मन्त्रिपरिषद गठनको गृहकार्य सुरु गरेको छ । यहि क्रममा अब बन्ने नयाँ सरकारमा १८ सदस्यीय मन्त्रिपरिषद गठनको प्रयास भइरहेको रास्वपा स्रोतले जानकारी दिएको छ ।
रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले १८ सदस्यीय मन्त्रिपरिषद बैठक गठनको प्रयास भइरहेको जानकारी गराएका छन । सहमहान्त्री बुर्लाकोटी, ‘हामीले सकेसम्म कम सदस्यीय मन्त्रिपरिषद गठनको प्रयास गरिरहेका छौं ।
सकेसम्म १८ वरिपरि गर्ने गृहकार्य भइरहेको छ ।’ उनका अनुसार यसक्रममा केही मन्त्रालय गाभ्ने कि मन्त्रीहरुलाई दोहोरो जिम्मेवारी दिने भन्ने विषयमा छलफल चलिरहेको छ । ‘मन्त्रालयको संख्या र मन्त्री बन्नेहरुको नामावली टुंगो लागिसकेको छैन । तर हामी सकेसम्म १८ वा त्योभन्दा कम गर्ने गरी छलफलमा छौं,’ उनले भने ।
महामन्त्री बुर्लाकोटीका अनुसार यही चैत १३ गते रास्वपा बरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री पदको शपथ ग्रहण कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीको शपथ ग्रहणकै बेला सबै मन्त्रीहरुले पनि शपथ ग्रहण गर्ने गरी तयारी भइरहेको जानकारी उनले दिएका छन ।
उनका अनुसार विधान संशोधन नगरेरै बालेनलाई संसदीय दलको नेता चयन गर्ने तयारी छ । बालेन प्रधानमन्त्री बनाउने गरी राजनीतिक निर्णय भएको जनाउँदै उनले संसदीय दलको नेता चयनका लागि विधान संशोधन गर्न आवश्यक नभएको जिकिर गरे ।
रास्वपा र काठमाण्डू तत्कालीन मेयर पक्षसँग पुस १३ गते एकता हुँदा भावी प्रधानमन्त्री शाहलाई बनाउने सहमति बनेको थियो ।