काठमाण्डू, ५ चैत– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरणले मौसम बदलीसँगै देशका विभिन्न भागमा भोलिदेखि तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना रहेको भन्दै सचेत रहन अनुरोध गरेको छ । प्राधिकरणले बिहीबार विज्ञप्ति जारी गर्दै आगामी तीन दिनको मौसम पूर्वानुमानबारे जानकारी गराउँदै यस्तो आग्रह गरेको हो ।
प्राधिकरणका अनुसार शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा एवं हिमपातको सम्भावना छ ।
साथै, शुक्रबारदेखि नै दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्रका आसपासका जिल्लामा र पर्सि शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी (झन्डै ११९ किलोमिटर प्रतिघण्टा) चल्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।
प्रि–मनसुनको अवधि पनि रहेकोले तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने लगायतका जोखिम रहने प्राधिकरणको भनाइ छ ।
पछिल्ला केही दिन हावाहुरीका घटनाका कारण मानिसको मृत्यु तथा घाइते भएको भन्दै प्राधिकरणले जोखिम पूर्वानुमान गरिएका क्षेत्रमा बसोबास तथा यात्रा गर्ने नागरिकले विशेष सतर्कता अपनाउन अनुरोध गरेको हो ।