एमाले सशक्त प्रतिपक्षीको भूमिकामा उत्रिन्छः एमाले सचिव अर्याल

काठमाण्डु टुडे २०८२ चैत ५ गते १६:२२ मा प्रकाशित

काठमाण्डू, ५ चैत– एमालेकी सचिव पद्मा अर्यालले निर्वाचन परिणामलाई स्वीकार गर्दै अब आफ्नो पार्टी सशक्त प्रतिपक्षको भूमिकामा बस्ने बताएकी छन ।

आज (बिहिबार) निर्वाचन आयोगले आयोजना गरेको प्रतिनिधि सभाको समानुपातिकतर्फ निर्वाचित सांसदको प्रमाणपत्र लिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमालेकी सचिव अर्यालले यस्तो बताएकी हुन ।

उनले आगामी सरकारको नेतृत्व गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सकारात्मक कामको लागि सहयोग गर्ने पनि बताएकी छन । उनले एमाले स्थायित्वको पक्षमा रहेकोले निर्वाचनले देशलाई राजनीतिक स्थिरता दिएको पनि बताएकी छन ।

सचिव अर्यालले रोजगारी सिर्जना, उत्पादनमा वृद्धि, महिला र ज्येष्ठ नागरिकको सम्मान लगायतका काममा सरकार केन्द्रित हुनुपर्ने समेत बताएकी छन । राजनीतिक अस्थिरता नै विकास र समृद्धिको प्रमुख बाधक भएको उनको भनाइ छ ।

नयाँ शक्तिले झन्डै दुई तिहाइ जनसमर्थन पाएको अवस्थामा सरकारप्रति जनताको अपेक्षा अझ उच्च रहेको पनि उनले बताएकी छन । एमालेले प्रतिपक्षबाट जनताको मतको रक्षा गर्दै सरकारलाई सही ट्रयाकमा ल्याउने उनको भनाइ छ ।

संसदमा एमालेको भूमिका जनताको हित र राष्ट्रहितको पक्षमा सशक्त हुने बताउँदै उनले राम्रो काममा सहयोग र गलत कार्यमा कडा खबरदारी गर्ने पनि उनले बताइन । उनले एमालेले निर्वाचनमा पाएको असफलताको समीक्षा गर्ने गरेर कमी कमजोरीलाई सुधार गर्ने समेत बताएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us