काठमाण्डू, ५ चैत– कांग्रेस सभापति गगन थापाले आफूले दिएको राजीनामाको निर्णय पराजित मानसिकताबाट नआएको बताएका छन । हिजो (बुधबार) सभापति थापाले उपपसभापति विश्वप्रकाश शर्मालाई बुझाएको राजीनामा पत्रमा आफूले राजीनामा दिनुको कारण उल्लेख गरेका छन् ।
‘मेरो यो निर्णय कुनै पराजित मानसिकताको उपज होइन, बरु लोकतान्त्रिक संस्कारमा परिणामको जिम्मेवारी लिनु नेतृत्वको कर्तव्य पनि हो भन्ने जिम्मेवारीबोधको अभिव्यक्ति हो,’ थापाको राजीनामा पत्रमा भनेका छन ।
उनले आफ्नो जिम्मेवारी निर्वाह गर्दा वा कुनै निर्णय लिँदा देश, लोकतन्त्र र पार्टीको हितमा उचित ठानेका निर्णयहरू नै गरेको दाबी गरेका छन् । उनले सभापतिबाट राजीनामा दिए पनि पार्टी सुधार र पुनर्निर्माणको यात्राबाट आफू अलग नभएको उल्लेख गरेका छन् ।
‘आज मैले पार्टीको सभापति पदबाट राजीनामा दिने निर्णय गरेको हुँ, तर पार्टी सुधार र पुनर्निर्माणको यात्राबाट अलग भएको छैन,’ उनले भनेका छन्, ‘आगामी दिनहरूमा म देशका विभिन्न भागमा पुगेर पार्टीका साथीहरूसँग र आम नागरिकसंग संवाद गर्नेछु, उहाँहरूको भावना बुझ्नेछु र सुझाव सुन्नेछु । नेपाली कांग्रेसको पुनर्निर्माण तथा सुदृढीकरणको यात्रामा सक्रिय रूपमा थप उर्जाका साथ संलग्न रहनेछु ।’