काठमाण्डू, ४ चैत– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका नवनिर्वाचित सांसदहरूलाई सकेसम्म सरकारी अस्पतालमा उपचार गर्न अनुरोध गरेका छन ।
आज (बुधबार) ललितपुरको ग्वार्कोमा भइरहेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा रास्वपा सभापति लामिछानेले यस्तो अनुरोध गरेका हुन । आकस्मिक अवस्थामा भन्दा बाहेक सरकारी अस्पतालमा उपचार गराउन उनले आग्रह गरेका हुन् ।
सभापति लामिछानेले भने, ‘सक्नुहुन्छ भने सकेसम्म सरकारी अस्पतालमा उपचार गराउनुस् । सेवालाई चुस्त बनाउनुस् । म बाध्यकारी भन्दिनँ ।’ पार्टी स्थापना भएको ४ वर्ष पनि नहुँदा विभिन्न व्यक्तिहरू जोडिएको उनले जानकारी दिए ।
उनले जनताले दिएको ठूलो जिम्मेवारी ग्रहण गर्नुपर्ने बताउँदै यसलाई ख्याल गर्न आग्रह गरे । सभापति लामिछानेले भने, ‘रास्वपा स्थापना भएको ४ वर्ष पनि भएको छैन ।
यसबीचमा विभिन्न पृष्ठभूमि भएका साथीहरू हुनुहुन्छ । हामीभित्र कसैको विवाद पनि होला, कसैको उच्च छवि पनि होला, कसैको सामान्य कसैको उच्च किसिमको सार्वजनिक जीवन होला, आफ्नो सरकार बहुमतमा रहन्छ, संख्या घट्ला भन्ने कुराको प्रवाह नगरी काममा लाग्नुस् ।’