गृहमन्त्रीमा डीपी अर्याल र सुनिल लम्सालको दाबी

काठमाण्डु टुडे २०८२ चैत ४ गते १३:५८ मा प्रकाशित

काठमाण्डू, ४ चैत– गत २१ फागुनमा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा दुई तिहाइ नजिक बहुमत प्रप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला मन्त्रिमण्डल गठनको गृहकार्यमा जुटेको छ ।

मन्त्रालयगत रूपमा सम्बन्धित उम्मेदवारको रोस्टर बनाएर छलफल चलिरहेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अहिले अर्थमन्त्रीमा स्वर्णिम वाग्लेको नाम मात्रै चर्चामा छ ।

वाग्ले जत्तिको पोर्टफोलियो भएको व्यक्ति नभेटिएकोले उनको दाबी हुँदासम्म अरू कसैले पनि यो मन्त्रालयको दाबी नगरेको स्रोतले जानकारी दिएको छ । यसअघि वाग्लेलाई ‘चेक’ गर्न राष्ट्रिय सभामा अहिलेका अर्थमन्त्री रामेश्वर खनाललाई लैजाने चर्चा थियो ।

तर, सरकारले राष्ट्रिय सभामा रिक्त विज्ञ सांसदमा अहिलेका गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ । त्यस्तै, अर्को शक्तिशाली मन्त्रालयको रूपमा रहेको गृह मन्त्रालयमा भने दुई जनाले दाबी गरिरहेका छन् ।

अहिलेसम्म पार्टीका उपसभापति डीपी अर्याल तथा नेता सुनिल लम्सालले उक्त मन्त्रालयको दाबी गरिरहेको स्रोत बताउँछ । लम्साल बालेन निकट हुन् । रुपन्देही–१ बाट निर्वाचित उनको नाम यसअघि बालेन टिमको तर्फबाट महामन्त्रीका लागि चर्चामा समेत थियो ।

शक्तिशाली मन्त्रालयमा बालेन र रवि पक्षबिच सन्तुलन मिलाउन बालेन पक्षले लम्साललाई ल्याउन चाहेको छ । तर, अर्यालले भने आफू गृहमन्त्री बाहेक अरू केही नबन्ने बताउँदै आएका छन ।

पार्टीले भने अर्याललाई सभामुखको रूपमा अघि सारेको छ, तर उनले सभामुख बन्न रुचि नदेखाएको बताइन्छ । गृहमन्त्री बन्न नपाएको अवस्थामा उनलाई भौतिक पूर्वाधारमा व्यवस्थापन गर्ने विकल्प राखिएको स्रोतले जानकारी दियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us