प्रधानमन्त्रीको प्रशंसा गर्दै प्रचण्डले भनेः चुनाव नभएको भए मुलुक दुर्घटनामा जान सक्थ्यो

काठमाण्डु टुडे २०८२ चैत ४ गते १२:४४ मा प्रकाशित

काठमाण्डू, ४ चैत– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसा गरेका छन ।

आज (बुधबार) बिहान प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन लगायतका नेताहरु प्रधानमन्त्री कार्कीको निमन्त्रणामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।

भेटमा प्रतिनिधि सभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्रीको सचिवालय स्रोतको अनुसार प्रधानमन्त्री कार्कीले नेताहरूसँग भनेकी छन्, ‘तपाईँहरुले निर्वाचनमा भाग लिइदिनुभयो ।

यो निर्वाचनको पक्षमा वातावरण बनाउनुभयो र मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट निकास दिन सहयोगी भूमिका खेल्नुभयो । यसका निम्ति धेरै धन्यवाद छ ।’ साथै प्रधानमन्त्री कार्कीले निर्वाचनमा विजय एका नेताहरूलाई बधाइ दिइन् र अन्य नेताहरुलाई अर्कोपटकका लागि शुभकामना समेत दिएकी छन ।

नेकपाका नेताहरूले पनि प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न भई देशले निकास पाएको भन्दै बधाइ समेत दिएका छन । संयोजक प्रचण्डले भनेका छन्, ‘यो निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान्थ्यो ।

यसमा जुन साहस र मेहनतका साथ तपाईँले काम गर्नुभयो, यो निकै महत्वपूर्ण र प्रशंसालायक छ ।’ सुरुकै दिनदेखि आफू र आफ्नो पार्टी निर्वाचनको पक्षमा उभिएको पनि प्रचण्डले स्मरण गरे । ‘हामीले सुरुबाटै निर्वाचनको विकल्प छैन भनेर उभिएका हौँ ।

इफ बट केही नभनी निर्वाचन हुनुपर्छ भन्ने त्यतिबेला हामी मात्रै थियौँ,’ प्रचण्डले भने । पूर्वप्रधानमन्त्री नेपालले कार्की प्रधानमन्त्री बन्ने अवस्थाको स्मरण गरे ।

‘प्रधानमन्त्रीमा सुशीला कार्की आउने भन्ने सुनेको दिन निकै राहतको महसुस भएको थियो । तर पछि तपाईँले नआउने भन्नुभयो भन्ने समाचार पनि आयो । त्यस कुराले हामी सबै आत्तिएका थियौं । तपाईं आइदिएपछि संविधान बाँच्छ, व्यवस्था जोगिन्छ र अवस्था सम्हालिन्छ भन्ने विश्वास थियो’ नेपालले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us