१ करोड १६ लाख नगदसहित काठमाण्डूबाट दुई हुन्डी कारोबारी पक्राउ

काठमाण्डु टुडे २०८२ चैत २ गते १७:३० मा प्रकाशित

काठमाण्डू, २ चैत– प्रहरीले काठमाण्डूको नागार्जुन नगरपालिका–८ भिमढुंगाबाट हुन्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न २ जना पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाण्डूको टोलीले उनीहरूलाई करोड १६ लाख नगदसहित पक्राउ गरेको हो । अभौतिक मुद्राको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा परिसरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ का २८ वर्षीय सागर गिरी र सोही ठाउँका २८ वर्षीय प्रमोद प्रसाद धिताल रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरूलाई जिल्ला अदालत काठमाण्डूबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट विभिन्न बैंकको विभिन्न व्यक्तिको नाममा रहेको चेक, विभिन्न व्यक्तिको नाममा काटेको २७ लाख ३० हजार रुपैयाँको चेक, विभिन्न व्यक्तिका नाममा रहेका एटीएम, नागरिकता, २ थान चारपाङ्ग्रे सवारी, दुई पाङ्ग्रे सवारी १ थान, सवारी दर्ता किताब ३ थान, विभिन्न कम्पनीका ६ वटा मोबाइल, ३१ थान सिमकार्ड, १ थान कम्प्युटर लगायतका जिन्सि सामग्री पनि बरामद गरीएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us