बेवारिसे कारबाट १०९ किलोभन्दा बढी गाँजा बरामद

काठमाण्डु टुडे २०८२ चैत १ गते १६:२७ मा प्रकाशित

काठमाण्डू, १ चैत– प्रहरीले महोत्तरीबाट बेवारिसे अवस्थामा रहेको एक भारतीय कारबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा मातहतबाट खटिएको प्रहरी टोलीले बिहीबार राति रामगोपालपुर नगरपालिका–७ क्षेत्रमा शंकास्पद अवस्थामा रहेको डिएल १ सिक्यू ५८६९ नम्बरको भारतीय कार फेला पारेको महोत्तरी प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले कारभित्र जाँच गर्दा चालक नभएको अवस्थामा शंका लागेपछि कार खोलेर तलासी लिँदा पछाडिको डिकीमा रातो प्लास्टिकले बेरी कालो प्लास्टिकको डोरीले बाँधेर लुकाइछिपाइ राखिएको गाँजा जस्तो देखिने पदार्थ २० पोका फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक विश्वम्भर नाथ साहले जानकारी दिएका छन ।

उनका अनुसार उक्त पदार्थलाई तौल गर्दा जम्मा १०९ किलो ६१० ग्राम रहेको पाइएको छ । बरामद भएको लागूऔषध गाँजासहित कार नियन्त्रणमा लिई लागुऔषध ओसारपसारमा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजतलासका लागि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक साहले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us